बर्षासँगै पहिरो खसेर म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी- अविरल वर्षासँगै पहिरो खसेर पश्चिम म्याग्दीको बेनी-दरबाङ सडक बन्द भएको छ । बेनी नगरपालिका-४, तातोपानी र मंगला गाउँपालिका-२, सिमलचौरको सिमानामा पर्ने घुमाउने भीरमा सडक भन्दा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी-दरबाङ सडकमा वर्षासँगै पहिरो खसेपछि शनिवार रातिदेखि नै सडक बन्द भएको हो ।

घुमाउने भीरको सडकमा माथिबाट ढुङ्गा, माटो र गेगरसहित को पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । सडकमा थुप्रिएको पहिरो पन्छाएर सडक खुलाउने पहल भैरहेको उहाँले बताउनुभयो ।

पहिरोले सडक अवरुद्ध भएपछि बेनीबाट दरबाङका लागि छुटेका सवारी साधन तातोपानीको मसार तथा दरबाङबाट बेनीका लागि छुटेका सवारी साधन सिमलचौर क्षेत्रमा रोकिएका छन् ।

पहिरोले सडकमा यातायात सेवा बन्द भएपछि यात्रु तथा सर्वसाधारणलाई यात्रा गर्न जोखिम हुनुका साथै सिमलचौर-पखेर भएर घुमाउरो बाटोमा यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

कुल २४ किलोमिटर दूरीको बेनी-दरबाङ सडकको घुमाउने भीर खण्ड वर्षाको समयमा पटकपटक पहिरो खसेर बन्द हुँदै आएको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउने भीरमा पहिरोले सडक अवरुद्ध बनाएपछि पश्चिम म्याग्दी भेगको सदरमुकाम बेनीसँग को सीधा यातायात सेवा सम्पर्क बिच्छेद भएको छ । बेनी-दरबाङ सडक पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । यो सडकले पश्चिम म्याग्दीको मंगला-मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने काम गर्छ ।

म्याग्दीको पश्चिम भेगका तीनवटा पालिका हुँदै जलजला-ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी-दरबाङ सडक रणनीतिक महत्वको रुपमा अगडि बढाइएको छ ।

छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरूले समेत छिटै गन्तव्यमा पुगिने भएकाले बेनी-दरबाङ सडकको प्रयोग गर्ने गर्दछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.