एउटा वाइडबडी जहाज नफर्कदै मर्मतका लागि अर्को पठाइयो

काठमाडौँ- मर्मतका लागि इटालीमा रहेको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज नेपाल नफर्कदै अर्को वाइडबडी जहाज पनि मर्मतका लागि आज उतै पठाइएको छ ।

विस्तृत मर्मत ‘सी–चेक’ का लागि दुई महिनादेखि इटालीमा रहेको वाइडबडी जहाज अबको एक सातामा नेपाल फर्कने नेपाल वायु सेवा कम्पनीले जनाएको छ ।

विस्तृत मर्मत ‘सी–चेक’ नियमित र प्राविधिक प्रक्रिया भए पनि दुवै वाइडबडी एकैपटक ग्राउन्डेड हुने अवस्था आएपछि निगमको निर्धारित उडान प्रभावित हुने देखिएको छ । चाडपर्वको पूर्व सन्ध्यामा दुवै वाइडबडीको उडान अवरुद्ध हुँदा निगमले ठूलो आम्दानी गुमाउनुपर्ने अवस्था सृजना भएको छ ।

यद्यपी निगमले मर्मतका लागि दुई महिनाअघि पठाइएको न्यारोबडी जहाज अबको एक हप्ताभित्र फर्केने बताएको छ । बुधबार इटाली पठाइएको वाइडबडीले जापानको नारिताका लागि उडान गर्दै आएको थियो । तर अब यो जहाज इटलीबाट फर्किने मिति निश्चित छैन । निगमका प्रवक्ता रमेश पौडलले जहाज मर्मतको काम प्राविधिक विषय भएकोले यसमा केही थप प्राविधिक चुनौती आउनसक्ने बताउँदै अबको एक हप्तापछि पहिल्यै पठाइएको जहाज फर्किने र नियमित उडान सुरु हुने दाबी गर्नुभयो ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ सिट क्षमताका दुई र २ सय ७४ सिट क्षमताका दुई गरी चारवटा जेट विमान छन् । तिनले भारत, कतार, मलेसिया, दुबई, हङकङ, थाइल्यान्ड, साउदी अरब र जापान गरी ९ वटा देशका ११ गन्तव्यमा उडान गर्छन् । निगमका अनुसार यतिबेला निगमबाहेकका स्वदेशी/विदेशी वायुसेवाको बजार हिस्सा ८७ प्रतिशत पुगेको छ ।

तर नेपाल एअरलाइन्सको उडान नियमित नहुँदा निगमको बजार हिस्सा हरेक वर्ष घटिरहेको छ । निगमको बजार हिस्सा खुम्चिँदै गएपछि हवाई भाडामा पनि अस्वाभाविक चाप पर्ने गरेको छ । त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारी र अध्ययनमा जाने नेपाली विद्यार्थीलाई पर्ने गरेको सरोकारवालाहरु बताउँछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.