कोरियाबाट फर्केर भेडापालनमा रमाएका प्रितिराज, भैराज र रामप्रसादहरु
खोटाङ- खोटाङ र भोजपुरको सिमा क्षेत्रमा रहेको मुन्दुम ट्रेल तथा मयुम क्षेत्रमा गरिएको ब्यवसायिक भेडा पालनले पदयात्रीको मनै लोभ्याउन थालेको छ ।
खोटाङको केपिलासगढी तथा भोजपुरको सालपासिलिछोँ गाउँपालिका लगायतका युवाहरुले राखेका भेडीगोठ तथा भेडापालनले व्यवसाय मात्र फस्टाएको छैन, पदयात्रीहरुको मन पनि लोभ्याउने गरेको छ ।
दक्षिण कोरियामा दुई बर्ष रोजगारीमा बसी फर्किएका केपिलासगढी-१ का युवा प्रितिराज राई र सोही स्थानका २६ बर्षीय भैराज राई लगायतका युवाहरुले यो क्षेत्रमा भेडा पालन थालेका हुन ।
यस्तै, साल्पाशिलिछो-६ दोभानेका रामप्रसाद राई लगायतले भेडी चोकमा राखेको भेडीगोठ पदयात्री पर्यटकको आकर्षण बन्ने गरेको छ । मौसम र समय अनुकुल खर्कको निश्चित ठाउँहरुमा गोठ सारिरहने भएकोले भेडी चोक भन्ने गरिएको भेडापालक भैराजको भनाइ छ ।
भेडापालनबाट आम्दानी तथा सन्तुष्टी दुबै बढेको कोरियाबाट फर्किएका प्रितिराजले बताए ।
आम्दानीका साथै पदयात्री पर्यटकहरुलाई आनन्द दिलाउन पाउँदा झनै सन्तोष लागेको भेडापालकहरु सुनाउँछन् ।
भेडी गोठहरुलाई हिउँदको समय गाउँमै झारिन्छ । चैत्र-वैशाखबाट भने विस्तारै लेकतिर निकाल्ने गरिन्छ ।
लेकतिर निकालेपछि भने एकै ठाउँमा दुईदेखि पाँच जना सम्मको भेडा एकै ठाउँ मिसाएर राख्ने तथा चराउने गरिएको भैराजले बताए ।
यसो गर्दा आलोपालो गरेर घर आउन अर्थात फुर्सद मिल्ने भएकोले सहजता भएको रामप्रसाद राईको अनुभब छ ।
भेडालाई साथी बनेर डाँडाबाट कराउँदै चराउने गरेको उनीहरु सुनाउँछन ।
वैदेशिक रोजगारीका लागि युवाहरु मरिहत्ते गरिरहेका सन्दर्भमा प्रितिराज, भैराज, रामप्रसादहरु भने भेडा पालनबाटै जिविका चलाइरहेका छन् ।
भेडापालन मै भविश्य देखिरहेका युवाहरु बेरोजगार युवाहरुलाई साना–तिना उद्यममा लाग्न सुझाव दिन्छन् । मयुम क्षेत्रका भेडापालकहरु अन्य स्थानमा बस्नै मन नपर्ने बताउँछन् ।
बिशेषगरी भेडापालन गरेर सुन्दर मैयुम र सरकारले सय गन्तब्यमा निर्धारण गरेको मुन्दुम पदमार्गको शोभा बढाएको पर्यटकहरुको भनाइ छ ।
उनीहरुले आफ्ना भेडाहरुलाई जस्तै यहाँको प्रकृतिलाई पनि उत्तिकै माया गर्छन् । यहाँको जडीबुटी जनवारको संरक्षणमा उनीहरु हमेसा सचेत रहन्छन् ।
सो क्षेत्रमा घोडा, चौँरी, गाईभैँसी लगायतका जनावारहरु पनि सँगसँगै पालिएका छन् ।
जैबिक बिविधता र हिमश्रृंखला लगायतका बनस्पति, मौसमी फूलहरुले मनोरम बनाएको उक्त क्षेत्र पछिल्लो समय पदयात्री तथा पर्यटकहरको रोजाइको गन्तब्य बनेको छ ।।
प्रतिक्रिया राख्नुहोस्