प्रहरीले नियन्त्रणमा लिएर छाडेलगत्तै पूर्व मुख्यमन्त्री कार्की पुनः अनसनमा

मोरङ- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पुनः अनसन शुरु गर्नुभएको छ । निषेधित क्षेत्रमा अनसन बसेको भन्दै सुरक्षाकर्मीहरुले बल प्रयोग गरी अनसन स्थलबाट हटाएर घर पुर्‍याएको केही बेर पछि निषेधित क्षेत्र बाहिर देवकोटा चोकमा पुनः अनसन सुरु गर्नुभएको हो ।

प्रदेश सभा सचिवालय अगाडी रहेको बनसखण्डी मन्दिर सामुन्ने अनसन बस्नुभएका पूर्व मुख्यमन्त्री कार्कीलाई निषेधित क्षेत्र भन्दा करिब ५० मिटर पूर्व देवकोटा चोकमा अनसन बस्न पटक-पटक गरेको आग्रह अस्विकार गरेपछि सुरक्षाकर्मीहरुले बल प्रयोग गरेर हटाएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

अनसन स्थलबाट पूर्व मुख्यमन्त्री कार्कीलाई हटाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब २ सय सुरक्षाकर्मीहरुलाई निकै हम्मे हम्मे परेको थियो । सो क्रममा पटक पटक झडप हुँदा केही नेता तथा कार्यकर्ताहरु समेत घाइते भएका छन् ।

उहाँलाई साथ दिन पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेस विराटनगर महानगर समितिका अध्यक्ष दीपक चापागाई लगायतलाई प्रहरीले बल प्रयोग गरी अनसन स्थलबाट हटाएको थियो ।

आफुले ल्याएका योजनाहरु वर्तमान हिक्मत कुमार कार्की नेतृत्वको कोशी सरकारले कटौती गरेको भन्दै कार्कीले प्रदेश सभा भवन अगाडी आमरण अनसन शुरु गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार दिउँसो ३ बजे देखि प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको कार्यालय, जिल्ला प्रशासन कार्यालय क्षेत्रमा विरोध प्रदर्शन र अनसन लगायतका कार्य रोक्न निषेधित क्षेत्र तोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.