मनहरिका अध्यक्षले बनाइदिए एकल महिलालाई घर

हेटौँडा – यहाँको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीेले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकमबाट एकल महिलालाई पक्की घर बनाइदिनुभएको छ । मनहरी– ५ वसन्तपुरमा लामो समयदेखि आवासविहीन अवस्थामा रहनुभएकी सोनी राईलाई पक्की घर बनाएर आज हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधाबापत् प्राप्त रकम कोष स्थापन गरी जम्मा गर्दै आउनुभएको छ । सोही कोषबाट रु दुई लाख १५ हजार खर्चेर राईलाई घर बनाइदिनुभएको उहाँले जानकारी दिनुभयो । आठ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उहाँ वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आउनुभएको थियो ।

“ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिएँ । पानी चुहिन्थ्यो । हावाहुरीले समस्या पाथ्र्यो । आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । अध्यक्षज्युको सहयोगले घर बन्यो, उहाँलाई धन्यवाद”, सोनीले भन्नुभयो ।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएका थिए । अध्यक्ष कालाखेतिले निर्वाचनका बेला जनताका बीचमा गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधाबापतको खर्च जनताको सेवामा समर्पित गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.