आधा छेडियो शिद्धबाबा सुरूङ, कहिले होला ‘ब्रेक थ्रु’ !

बुटवल- सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग ५४५ मिटर खनिएको छ । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर खनिएको हो ।

योसँगै करिब सुरूङको आधा खन्ने काम सकिएको हो । उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरूङमार्ग आयोजनाले जनाएको छ ।

सुरूङमार्गका तीन वटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको छ । बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ । आयोजनाको कुल भौतिक प्रगति २२.८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६.४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

आयोजनामा गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीब्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।

‘तीन वटा बाइपास मध्ये एउटा छेडिएको छ’- ज्ञवालीले बताउनु भयो, मुख्य सुरूङ आउँदो डिसेम्बर (मंसीर) सम्म छेडने लक्ष्य छ ।’ आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ ।

सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगालाई सिधै तल झार्ने छ । आयोजना समयमै सक्न जनप्रतिनिधिहरूले निगरानी र सहयोग दुवै गरिरहेको प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले बताउनु भयो ।

कुल तीन किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । सुरुङमार्गका तीन स्थानमा खुला भाग राखिने छ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.