प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचितको मात्रै बनाऔँ: सांसद खतिवडा

काठमाडौं- नेपाली काँग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको मात्रै सभा बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै सांसद खतिवडाले प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित सदस्यहरूको मात्रै सभा बनाउनुपर्ने बताउनुभएको हो । उहाँले प्रत्यक्ष निर्वाचनमै महिला, दलित अथवा विभिन्न जातजातिलाई सिट दिएर सोही क्लस्टरले मात्र आपसी प्रतिस्पर्धा गराउन सकिने बताउनु भयो । उहाँले समानुपातिक सदस्यहरूलाई राष्ट्रिय सभामा लानुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले केही कुराहरूमा संविधान संशोधन गर्नुपर्ने जरुरी छ । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित गराऔँ केही बिग्रिँदैन । यहीँ समावेशी बनाऔँ । यहीँ सबै जातको प्रतिनिधित्व बनाऔँ । महिला उठ्ने ठाउँमा महिला मात्रै उठाइदिऊँ, दलित उठ्ने ठाउँमा दलित मात्रै उठाइदिऊँ । जनजाति उठेको ठाउँमा जनजातिको मात्रै प्रतिनिधित्व गराऔँ । असाध्यै राम्रो हुन्छ । संविधान संशोधन गर्ने बित्तिकै सबै अधिकारहरू गइगए, घटिहाले हामी त परै जानु¥यो बल्ल बल्ल पुगिराख्यौँ भन्ने पद्धतिको अन्त्य गरौँ । समानुपातिक पद्धति हामीले बिगारेकै छौँ । जनप्रिय छोडेर धन प्रिय खोज्छौँ । नाताका खोज्छौँ । नीतिका होइन नेताका खोज्छौँ । नाता छोड्यौ भने दाता खोज्छौँ । अनि कहाँबाट बन्छ राम्रो ? यो गल्ती भएको छ, यसलाई संशोधन गर्नुपर्छ । हाम्रो त्यही धारणा छ । यो अवस्था आइसकेको छ । हामीले परिपक्व रूपमा जानुपर्ने देखिन्छ, शासकीय स्वरूपको बारेमा । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित बनाऔँ । राष्ट्रिय सभा समानुपातिक बनाऔँ । बरु राष्ट्रिय सभाबाट पनि मन्त्री, प्रधानमन्त्री हुने व्यवस्था गरौँ । त्यसले केही बिग्रिँदैन । तर मुलुकलाई स्थायित्वको बाटोमा लानुपर्ने बेला भएको छ ।’ 

उहाँले शासकीय स्वरूप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्ने बेला आइसकेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.