चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती

काठमाडौं – जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरू, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरू, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरू, व्यक्तिहरूको खालि रहेको घर, सरकारी कार्यालय र भिडभाड हुने बजारहरू रहेको उल्लेख गरेको छ । त्यस्तै एटिएम बुथ, खसी बजार, गरगहना पसल, धार्मिक स्थल, शक्ति पीठ, पुजा स्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरूमा पनि सुरक्षा दिनुपर्ने भन्दै सो स्थानहरूमा सुरक्षाकर्मीको उपस्थिति रहने जनाइएको छ ।

पत्रकार भेटघाटमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानहरूमा सुरक्षा दिनका लागि प्रहरी तयार रहेको बताउनु भयो । उहाँले प्रहरीले व्यक्ति तथा सम्पत्तिहरुको सुरक्षा गर्ने बताउनु भयो । त्यसै गरी धार्मिक मठमन्दिर तथा जात्राहरुको सुरक्षा गर्ने पनि उहाँले बताउनु भयो । उहाँले बढी भिडभाड हुने बैङ्क तथा वित्तीय संस्थाहरूमा प्रहरी गस्ती गरी सुरक्षा प्रदान गर्ने जानकारी दिनुभयो । त्यसै गरी सहज तथा उचित मूल्यमा टिकटको व्यवस्थापनमा प्रहरी सचेत रहेको र पर्याप्त सवारी साधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालनमा सहयोग गर्ने उहाँको भनाई छ ।

त्यसै गरी प्रहरीले सरकारी सम्पत्ति तोडफोड हुनसक्ने र भिडभाड बजारमा पकेटमार हुन सक्ने भन्दै सुरक्षाका लागि प्रहरीको व्यवस्था मिलाइएको जानकारी दिइएको छ । एटिएम बुथ क्षेत्रतर्फ गस्ती निगरानी गर्ने, गरगहना पसलको सुरक्षामा, शक्ति पीठ, मन्दिर तथा पूजा स्थलमा पनि गस्ती हुने उहाँले जानकारी दिनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले शक्तिपीठहरुमा विशिष्ट व्यक्तिहरूको सुरक्षाको व्यवस्था मिलाइएको बताउनु भयो । त्यसै गरी खसी बजारमा पकेटमार, खसी चोरी, झैझगडा, ठगी, विवाद हुनसक्ने भन्दै सो स्थानहरूमा पनि प्रहरी परिचालन गरिने उहाँले बताउनु भयो ।

टिकट काउन्टरहरूले महँगो भाडा असुल्ने, झैझगडा, चोरी, विवाद हुनसक्ने भन्दै त्यहाँ यात्रु सहायता कक्षको व्यवस्था गरी सुरक्षा व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.