वर्षाले रवि-राँके सडक र तमोर करिडोर सडक अवरुद्ध

धनकुटा–  लगातारको वर्षाको कारण पहिरो जाँदा भेडेटार–रवि–राँके सडक र तमोर करिडोर सडक अवरुद्ध भएका छन।

दुई दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि र खोलामा बाढी आउँदा ती सडक अवरुद्ध बनेका हुन। चौबिसे गाउँपालिकास्थित सौर्यमा सडकमा ठूलो ढुंगा खसेर तथा साँगुरीगढी गाउँपालिकाको डाँडाबजारमा पहिरोका कारण भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको हो।

जसले गर्दा चौबिसे गाउँपालिकाका विभिन्न स्थानबाट धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरु बीचैमा रोकिएका छन्। भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमि लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौं सवारी साधन सञ्चालन हुने गरेका छन्।

यस्तै निरन्तरको वर्षाका कारण नावा खोलामा बाढी आएसँगै बिहीबार (हिजो) बिहानैदेखि अवरुद्ध बनेको तमोर करिडोर सडकको धनकुटा–पाँचथर खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। धनकुटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा बिहीबार (हिजो) बिहानैदेखि पानीका बहाव बढ्दा धरान–विराटनगर ओहोरदोहोर गर्ने सवारी साधनसँगै यात्रु अलपत्र परेका हुन्।

तमोर करिडोरमा पर्ने नावा खोलासँगै छरुवा र रगुवा गरी तीनवटा खोलामा पुल बनेका छैनन्। अन्य खोलामा यातायात चलिरहे पनि नावा खोलाबाट बिहानैदेखि सवारी साधन वारपार हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

धरान र विराटनगरबाट पाँचथर र ताप्लेजुङ आउजाउ गर्न छोटो दूरी हुने भएकाले यात्रुले यो सडक उपयोग गर्दै आएका छन्। निरन्तरको वर्षाका कारण दुवै सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.