सबै सुरक्षित स्थानमा बस्नुहोला, उद्धार र राहतमा प्राथमिकता दिएका छौँ: गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले जोखिममा रहेका मानिसहरूको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले अहिले काठमाडौँमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरूको उद्धार गरिएको बताउनु भयो । उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरू बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज बनाउने काम भइरहेको बताउनु भयो ।

उहाँले सबै नागरिकले सतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो । उहाँले उद्धार, राहत र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले पुनः स्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो । उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरू बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराउनु भयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले काठमाडौँमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरूको उद्धार गरिएको छ । देशभर मानिसहरूले ज्यान गुमाएको स्थिति छ । सडकहरू अवरुद्ध भएको, पुलह रु बगेको स्थिति छ । पहिरो, बाढी र डुबान भएको छ । त्यसलाई हामीले देशभरको सूचना सङ्कलन गरेका छौँ । त्यसको मूल्याङ्कन गरेका छौँ ।

म सबैभन्दा पहिला प्राकृतिक प्रकोपको विपद्बाट ज्यान गुमाउनुहुने सबैका प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।

जोखिममा रहेका मानिसहरूलाई नेपाल सरकार अत्यन्त गम्भीरतापूर्वक, अत्यन्त संवेदनशील भएर यो विपद्को घडीलाई हेरिरहेका छौँ । म सबै दिदीबहिनी दाजुभाइलाई आश्वस्त गर्न चाहन्छु, नेपाल सरकारले आफ्नो तर्फबाट उद्धार गर्ने काममा, राहत दिने काममा, घाइतेको उपचार गर्ने काममा र सडकहरू अवरोध भएको स्थिति, बाढी, पहिरोका कारणले पुल पुलेसा बगाएको कुराहरूलाई मानिसहरूलाई पुनः स्थापित र पुनः निर्माण गर्ने काममा हामी अत्यन्त गम्भीरतापूर्वक काम गर्नेछौँ ।

सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न र नजिक जो पनि मानिस जोखिममा छ, उहाँहरूलाई सहयोग गर्नका लागि आग्रह गर्न चाहन्छु । मानिसहरूको उद्धार भइरहेको छ । नख्खु खोलामा केही मानिसहरू छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकेनौँ । यसका बारेमा दुःखी छु । हेलिकप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले उडाउन सकेनौँ । जमिनबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा नै दुर्घटना भयो । सशस्त्र प्रहरी बल नेपालकै जवानहरू बगेको स्थिति छ । जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएर हेरिरहेका छौँ ।’

गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.