बेरुतमा फैलिएको त्रासदीबाट चिन्तित छु: राष्ट्रसङ्घ प्रमुख
न्यूयोर्क, अमेरिका – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गर्नुभएको छ ।
बेरुतमा इजरायली हवाई आक्रमणमा परी हेजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि गुटेरेसले यो टिप्पणी व्यक्त गर्नुभएको हो ।
सामाजिक सञ्जाल एक्समार्फत गुटेरेसले भन्नुभयो “विगत २४ घण्टामा बेरुतमा भएका घटनाहरुमा म गम्भीर चिन्तित छु। हिंसाको यो चक्र तत्काल बन्द हुनुपर्छ ।”
“लेबनानी जनता, इजरायली जनता साथै सम्पूर्ण क्षेत्र युद्धको खर्च वहन गर्न सक्दैनन्”, उहाँले बतउनुभयो ।
यसैबीच,संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले एक्समा एउटा पोस्ट साझा गर्दै भन्यो, “लेबनानको त्रासदी माथि त्रासदी थपिँदै छ । हाल हिंसाको वृद्धिले हजारौँको ज्यान लिएको छ र मानिसमा अकल्पनीय डर पैदा गरेको छ । लेबनानका बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ ।”
इजरायली रक्षा बल(आईडीएफ) ले पनि शनिबार बेरुतको दहिह जिल्लामा गरेको आक्रमणमा वरिष्ठ हिजबुल्लाह गुप्तचर हसन खलील यासिनको मृत्यु भएको सेनाले जनाएको छ ।
यसैबीच, हिजबुल्लाहले बेरुतमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्युलाई आधिकारिक रूपमा स्वीकार गरेको सिएनएनले जनाएको छ ।
लेबनानको स्वास्य्म मन्त्रालयले हसन नसरल्लाहलाई लक्षित गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु र दर्जनौँ घाइते भएको जनाएको छ।
साथै, नसरल्लाहको मृत्युपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आयातोल्लाह शासनलाई चेतावनी दिँदै इजरायललाई लक्षित आक्रमण गर्नेले भयानक परिणाम भोग्नुपर्ने र इरान वा मध्यपूर्वको कुनै पनि स्थान इजरायलको पहुँचभन्दा बाहिर नभएको बताउनुभयो ।(रासस र एएनआई)
प्रतिक्रिया राख्नुहोस्