बाढी  पहिरो पीडितलाई सिन्धुलीमा ८२ लाख ९१ हजारको राहत वितरण

सिन्धुली-  सिन्धुलीमा करिब ८२ लाख बराबरको राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार मृतक दुई जनाको परिवारलाई चार लाख नगद सहित ८२ लाख ९१ हजार आठ सय ३१ रुपैयाँ बराबरको राहत बाढी र पहिरो पीडितलाई वितरण गरी सकिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकबाट तय गरिएको संयन्त्र अनुसार एकद्धार प्रणालीबाट उक्त राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका बाढीबाट प्रभावित भएकाहरूलाई राहत वितरण गरिएको हो । खाद्य सामाग्री र गैर खाद्य गरी चार पालिकामा ८ सय ८३ ओटा राहत प्याकेजमा ७८ लाख ९१ हजार ८ सय ३१ रुपैयाँ बराबरको राहत वितरण गरिएको प्रजिअ शर्माले बताउनु भयो ।

यस्तै बाढी तथा पहिरोबाट सिन्धुलीमा २ जनाको मृत्यु भएको छ मृतक परिवारलाई जिल्ला प्रशासनमार्फत दुई ÷दुई लाख रुपैयाँ उपलब्ध गराएको प्रशासनले जनाएको छ । निरन्तरको वर्षाले सिन्धुलीको कमलामाई नगरपालिका ८ सुके खोलामा आएको बाढीले स्थानीय ४६ वर्षीय कृष्णबहादुर बोगटीलाई बगाएर मृत्यु भएको थियो । यस्तै सुनकोसी गाउँपालिका १ का १२ वर्षीय विनय कोइरालाको पहिरोमा परि ज्यान गएको थियो । मृतक दुवै परिवारका आफन्तलाई जनही दुई लाखका दरले रकम उपलब्ध गराइएको प्रजिअ शर्माको भनाई छ । राहत प्याकेजमा दाल चामल, चिनी चिउरा तेल आलु तथा अन्य तरकारी जन्य बस्तुहरू चाउचाउ बिस्कुट फुरनदाना लगायतका बस्तुहरू पीडितलाई उपलब्ध गराइएको छ ।

यस्तै गैर खाद्य सामाग्रीमा त्रिपाल,कम्बल भाडा वर्तन तथा खानेपानी सप्लाईका लागि पाइप बाढी पीडितहरूलाई उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । राहत सामाग्री विभिन्न गैरसरकारी सङ्घसंस्था, स्थानीय व्यापारी, उद्योग वाणिज्य सङ्घ, होटेल व्यवसायी सङ्घ, रेडक्रस, राजनीतिक दल तथा दलका नेताहरू लगायतको सहयोगमा वितरण भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । राहत प्याकेज बढी प्रभावित क्षेत्रमा दोहोरिएकाले ८ सय ८३ प्याकेज भएको हो, प्रजिअ शर्माले एन टिभी संवाददातासँग भन्नुभयो, खुर्कोटमा तीन पटक राहत गइसकेको छ यस्तै सुनकोसीमा पनि दोहोरिएको छ । त्यो दोहोरिएको राहत प्याकेजलाई हेर्दा ८ सय ८३ प्याकेज भएको हो, तर बाढीबाट प्रभावित घरपरिवारको यकिन तथ्याङ्क आइसकेको छैन, हामी कहिदिनमै तथ्याङ्क सार्वजनिक गर्छौ । राहत प्याकेजमा करिब २० देखि २५ हजार बराबरको सामाग्री रहेको छ ।   गत असोज ११ र १२ गते आएको अविरल वर्षा पछिको बाढीले सिन्धुलीको सुनकोसी गाउँपालिका १ नेपाल थोक, सोही गाउँपालिका वडा नम्बर ५ को मुलकोट र गोलञ्जोर गाउँपालिकाको खुर्कोट बजार बजारलाई बगरमै परिणत गराएको छ भने अन्य पालिकाका सुनकोसी तटीय क्षेत्र तथा बागमती नदी सहित  अन्य खोलानाला आसपासका बस्तीहरूमा क्षति गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.