विपद्बाट घर बास गुमाएकालाई तत्काल पुनर्वासको व्यवस्था गर्न एमालेको आग्रह

काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपद्बाट घर बास गुमाएका १० हजार परिवारलाई छिटो भन्दा छिटो पुनः वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले विपद्बाट प्रभावित परिवारलाई छिटो भन्दा छिटो पुनः वासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले आफ्नो क्षमताले भ्याएसम्म विपद् प्रभावितहरूको उद्धार गरेको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोप र सरकारको क्षमताको ग्यापले केही असहज परिस्थिति सिर्जना भएको बताउनु भयो । उहाँले सरकारले विभिन्न माध्यमबाट सुरक्षित स्थानमा रहन आग्रह गरेको र आम नागरिकहरूमा सजगताको कमी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म गरेको छ । प्राकृतिक प्रकोप र सरकारको भोलुमको बिचमा ग्याप त हुँदो नै रहेछ । हालै मात्र अमेरिकाको फ्लोरिडामा आँधीबाट आक्रान्त छ । सुविधा सम्पन्न देशमा पनि केही कमजोरी छन् । तर हामीले सरकारले इमानदारीपूर्वक काम गरेको छ की छैन भनेर हेर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारीहरू सबै खट्नुभएको छ । तर मौसम विज्ञहरूले मुसलधारे वर्षा हुने अनुमान गर्नुभएको थियो । त्यसलाई मध्यनजर गरेर सरकारले सूचना पनि सतर्क रहन दिएको हो । कति कुरामा नागरिकहरूको सजगतामा कमी पनि भयो । सरकार अझ बढी प्रभावकारी बनोस् । १० हजार परिवारले घर बास गुमाउनुभएको छ । उहाँहरूलाई छिटो भन्दा छिटो पुनः वासको जरुरी छ । त्यसपछि पुनः निर्माणको काम आउँछ ।’

उहाँले सरकारले अझ बढी सक्रिय भई विपद् प्रभावितहरूको पुनः वास र पुनर्निर्माणका लागि प्रभाकारी ढङ्गले काम गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.