सरकार पीडितलाई राहत र पुन व्यवस्थापन काममा केन्द्रित हुनुपर्दछः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ – पूर्व राष्ट्रपति विद्या भण्डारीले बाढी, पहिरो पीडितहरूलाई राहत दिने र पुनः व्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ ।

सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै उहाँले अब उनीहरूलाई राहत दिने र पुनः व्यवस्थापनको काममा लाग्नुपर्ने बताउनुभएको हो ।

पूर्व राष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अप्रत्याशित विपद्को रूपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनु भयो । बाढी र पहिरोबाट सबैभन्दा ठुलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उहाँले त्यसलाई सम्मानै सुचारु गर्नुपर्ने पनि बताउनु भयो । राज्य जनताको अभिभावक भएकाले उनीहरूको पीडालाई सम्बोधन गर्नुपर्ने काममा लाग्नुपर्ने र त्यस काममा सरकार लागि रहेको पूर्व राष्ट्रपति भण्डारीको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘जनताको लागि आफ्नो सबै भन्दा भरपर्दो अभिभावक भनेको राज्यले नै हो । राज्यमा विभिन्न ढङ्गले प्रतिनिधित्व भएको हुन्छ । एउटा त सरकार हुन्छ । स्थायी सरकारको रूपमा विभिन्न राज्यको अङ्गहरू छन् । उहाँहरूले आफ्नो तर्फबाट जनतालाई आवश्यकताअनुसारको सेवा प्रदान गर्नुपर्ने हुन्छ । र, राज्यले पनि, सरकारले पनि गरिराखेको छ । कहिले काहीँ अप्रत्याशित घटनाहरू हुन्छन् । जसलाई हामी दुर्घटना पनि भन्छौँ । यसपालिको यो वर्षापनि अप्रत्याशित हो । त्यसैले गर्दा राज्यको तर्फबाट राज्यका सबै अङ्गहरूले जनतालाई गर्नुपर्ने जुन सेवा, सुविधा हो । त्यो चाहिँ तदारुकताका साथ दिनुपर्छ । अहिले सबैभन्दा ठुलो बाटोमा अवरोध भएको छ । बाटोलाई सम्मानै सुचारु गर्नुपर्ने हुन्छ । त्यस्तै गरेर धेरै यो प्रकोपमा पर्नुभएको छ । अव प्रकोपमा परेकाहरूको उद्धार कार्य त भइराखेको छ । अब उहाँहरूलाई राहत दिने र पुनव्यवस्थापनको काम हामीले गर्नुपर्ने हुन्छ । जो अब जीवन गुमाउनु भयो, उहाँ त गई नै सक्नुभयो । उहाँको परिवारलाई कसरी पुनर्स्थापित गर्ने र हाम्रो अभिभावक छ भन्ने खालको अनुभूति दिने, त्यो तहमा राज्यको तर्फबाट भूमिका हुनुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।’ 

पूर्व राष्ट्रपति भण्डारीले प्राप्त जनादेश अनुसार राजनीतिक दलहरूले काम गर्नुपर्ने बताउनु भयो । बेलाबेलामा हुने निर्वाचनमा दिएको म्यान्डेटको आधारमा सरकार बन्नुपर्ने र उसले त्यही जनमत अनुसार काम गर्नुपर्ने उहाँको भनाई थियो । पूर्व राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरू र कर्मचारीहरूले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक स्थायित्व समय समयमा चुनाव भएपछि जुन निर्वाचित प्रतिनिधिहरू आउँछन् । उनीहरूले आफ्नो कार्यकाल राम्रो गरी काम गर्नुपर्छ । जनताबाट पाएको जुन जनमत हुन्छ, जुन म्यान्डेट प्राप्त भएको हुन्छ । त्यो अनुसार काम गर्नुपर्ने हुन्छ । अहिले सधैँभरि हल्ला बढी हुन्छ हाम्रो देशमा । हल्लाको पछाडि चाहिँ लाग्नु हुँदैन । व्यवस्था आफैँ एउटा यान्त्रिक चिज भयो । त्यसलाई सञ्चालन गर्ने भनेको जनप्रतिनिधिहरू, मानिसहरूले नै हो । लोकसेवा आयोग पास गरेर आएकोबाट बनेको संयन्त्र र जन निर्वाचित प्रतिनिधिहरूको संयन्त्र दुई वटाले काम गरिराखेको हुन्छ हाम्रो देशमा । यो दुई वटा चाहिँ देश र जनताप्रति समर्पित भएर काम गर्नुपर्दछ । ’ 

त्यस अवसरमा पूर्व राष्ट्रपति भण्डारीको सबै नेपालीहरूलाई बडा दसैँको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.