देशभर डेङ्गी सङ्क्रमण तीव्र
डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच सय ९९ पुग्यो
काठमाडौँ – देशभर डेङ्गी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच सय ९९ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
डेङ्गी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । सङ्क्रमण मुलुकका ७६ जिल्लामा फैलिएको महाशाखाले जनाएको छ । डेङ्गी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ ।
काठमाडौँमा डेङ्गी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित भएका छन् । कास्कीमा दुई हजार आठ सय ४७ जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
पोस्ट मनसुन सुरु हुँदा डेङ्गीको जोखिम बढ्ने सम्भावना हुने चिकित्सकहरु बताउछन् ।
लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।।
प्रतिक्रिया राख्नुहोस्