कहिले हुन्छ लुम्बिनी प्रदेश सरकार पूर्ण ?

दाङ–लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिने तयारी गर्नु भएको छ । सकार गठन भएको सय दिन पुग्न थाल्दा बाँकी रहेका चार वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी अघि बढेको हो । १२ सदस्यीय मन्त्रीमण्डलमा अहिले एमालेका ५ र काँग्रेसका ३ मन्त्री मात्रै रहेका छन् । साउन ७ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता आचार्यले सत्ता साझेदार नेपाली काँग्रेससँगको समन्वयमा सरकारलाई पूर्णता दिने तयारी गर्नु भएको हो ।

एमाले काँग्रेसका भागबन्डाअनुसार एमालेलाई मुख्यमन्त्रीसहित ५ र काँग्रेसलाई ५ मन्त्री दिने समझदारी रहेको थियो । बाँकी दुई मन्त्रालय साना दललाई दिने पूर्व सहमति थियो । काङ्ग्रेसबाट दुई र बाँकी साना दलबाट एक÷एक जना गरी चार जना मन्त्री थप गर्ने योजना रहेको हो । केही दिन भित्र सरकारले पूर्णता पाउने सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नु भएको छ । हालै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभ्ने निर्णय गरेको छ भने नयाँ मन्त्रालयको रूपमा युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको हो ।

साउन ७ मा मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएपछि साउन ९ मा एमालेबाट ४ र काङ्ग्रेसबाट ४ मन्त्री नियुक्त गर्नु भएको थियो । तर, नेपाली काँग्रेसको तर्फबाट वन तथा वातावरण मन्त्रीमा नियुक्त बादशाह कुर्मीले राजीनामा दिएपछि सरकारमा अहिले काँग्रेसका ३ मन्त्री मात्र छन् । नयाँ बन्ने मन्त्रीहरुको नामको बारेमा दलहरूले टुङ्गो लगाए पनि साना दलहरूको बिचमा सहमति नजुट्दा सरकार विस्तारमा केही जटिलता भने देखिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.