सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन ढिलाइ गर्न हुन्न : महामन्त्री थापा

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषि केश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सहकारी छानबिन संसदीय समितिले काँग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरूमाथि पनि तत्काल छानबिन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो ।

उहाँले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाइ गर्न नहुने बताउनु भयो । सोमवार नेपाल राष्ट्र बैङ्कले काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हच्किच्याउने काम गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सहकारीका अपचलन गर्ने सयौँको सङ्ख्यामा छन् । ती मान्छेमध्ये ५÷६ सय मान्छे अभियोजनको क्रममा छन् । अरू ५÷७ सय मान्छे फरार छन् । ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याऊ । त्यो नयाँ होस् कि पुरानो होस कि । त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि । रुखको छायामुनि बसिराखेको होस् कि । सबैलाई अनुसन्धानमा ल्याऊ । छानबिन समितिमा बकाइँदा त्यही भन्छ । त्यसैले हामी भनिरहेका छौँ सरकारलाई–यी सबै विषयहरूका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस् । आम नागरिकहरूको विश्वसनीयताको कुरा पनि हो । अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली काँग्रेसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो । थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाइँदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नु पनि पर्छ । नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् । यो देशमा के स्थापित गर्नुपर्ने छ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–काँग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठुलो होस्, सानो होस्, शक्तिशाली मानिस होस् । पाँच पटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि । जो सुकै होस, कानुनभन्दा माथि कोही छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ । राज्यको अरू निकायले स्थापित गराउन सक्नुपर्छ ।’ 

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरूलाई धेरै नबोल्न पनि सुझाव दिनुभयो । सरकारमा बसेकाहरूले बोल्ने नभई उनीहरूले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले अबको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मैले प्रधानमन्त्रीजीलाई पनि भनेको, मन्त्रीजीहरूलाई पनि भनेको हो–तपाईँहरूले केही समय बोल्न बन्द गरिदिनोस् । तपाईँहरूले जवाफ फर्काउने होइन, तपाईँको कामले बोलोस् । तपाईँले गरेका निर्णयहरुले बोलुन् न । सरकारले गरेका कामहरूले एउटा कन्फिडेन्स देओस् । सायद दूधको किसानको कुरा होला । वा निर्माण व्यवसायीको बक्यौताको कुरा होला । यस्ता साना साना कुराहरू होलान् नि । आज सरकारले एउटा निर्णय ग¥यो, आज मङ्गलवार सरकारले अर्को निर्णय ग¥यो । मङ्गलवार भरी त्यो निर्णयको चर्चा होस् न । बुधवार पनि त्यो निर्णयको बारेमा चर्चा होस् न । अनि त्यसले बनाएको जुन सकारात्मक वातावरण छ । त्यो सकारात्मक वातावरणमा यति सहजतामा रहेको सरकारले त केही कुराहरूको जोखिम उठाउने आँट गरोस् न । हामी सरकार बदलिराख्ने एउटा पीडाबाट बाहिर निस्केका छौँ । कम्तीमा अब ३ वर्ष कहीँ तलमाथि हुँदैन भन्ने विश्वास हामी सबैले राखेका छौँ । यसको बेनिफिट आम नागरिकले पाउनुपर्‍यो नि त । त्यो बेनिफिट उसले गर्ने निर्णयहरूमा पाउनुपर्छ ।’ 

महामन्त्री थापाले सरकार बलियो भएकाले सन्देश दिने गरी काम हुनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.