इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद

 वासिंगटन डिसी – अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपालीहरूसँगै अमेरिकाका सांसदहरूले तिहार उत्सव मनाएका छन् ।

सस्कीहाना टाउनसिप मिडल स्कुलको अडिटोरियम हलमा आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी सङ्घीय सांसदका सदस्य कंग्रेसम्यान स्कट पेरी र उहाँको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरू डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोलीसहितका जनप्रतिनिधिहरूले नेपाली मूलका बालबालिकाहरू र तिनका अभिभावकसगै देउसी भैली एवं नेपाली सांस्कृतिक नृत्य र गीतमा रमाइलो गर्नुभएको थियो ।

इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको सो कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यान्कास्टर, स्क्रान्टन र पिट्सवर्ग शहरको इन्ट्रा म्युजिक स्कुलका बालबालिकाहरूले नेपाली सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा तिनै बालबालिकाले देउसी भैलो खेलेर नेपाली सांस्कृतिक चाड मनाएका थिए ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई आफूहरु बसेका स्थानहरूमा जीवन्त राख्न र आफ्ना सन्तान दर सन्तानसम्म नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्न फाउन्डेसनले अमेरिकाका विभिन्न सहरहरूमा सांस्कृतिक नृत्य तथा गायनका निःशुल्क कक्षाहरू सञ्चालन गरेको जानकारी दिनु भयो ।

नेपाली मूलका ११ सयभन्दा बढी बालबालिका एवं किशोर किशोरीले ती कक्षाहरूमा नेपाली सांस्कृतिक नृत्य र गायन सिकिरहेको उहाँले बताउनु भयो । आफ्नो संस्कृतिको पालना गर्न खोज्दा भुटानबाट लखेटिनु परेको अवस्थाको स्मरण गर्दै उहाँले शरणार्थी भएर नेपाल बस्दा होस् वा पुनर्वासअन्तर्गत अमेरिका आएर होस् नेपाली संस्कृतिलाई जीवन्त राख्न र पुस्तान्तरण गर्न प्रयास गरिरहेको बताउनु भयो ।

उहाँले नागरिकताको राष्ट्रियता फेरिए पनि नेपाली जातीय पहिचान कहिल्यै नफेरिने पनि बताउनुभयो ।

कार्यक्रममा अमेरिकी सङ्घीय सांसदका सदस्य कंग्रेसम्यान स्कट पेरीले आआफ्नो संस्कृति स्वतन्त्र र सुरक्षित रुपमा मनाउन पाउनु पर्ने धारणा राख्नु भयो ।

उहाँले आफ्ना पूर्वज कोलम्बियामा आएको, आफ्ना चिफ अफ स्टाफका पूर्वज इटलीबाट आएको बताउँदै नेपाल र भुटानबाट आएका नेपालीहरूको सांस्कृतिक उत्सवमा भाग लिन पाउँदा खुसी लागेको बताउनु भयो ।

वरिष्ठ बासुरीवादक सुशील विश्वकर्माले बाँसुरीबाट तिहारको धुन एवं कलाकारहरूले जहाँ छन् बुद्धका आँखा बोलको राष्ट्रिय गीतबाट सुरु गरिएको कार्यक्रममा नेपाली मूलका बालबालिकाले उत्साहपूर्ण प्रस्तुतिले दर्शकहरूलाई मनोरन्जन दिएका थिए ।

दावा तामाङको स्वागत एवं ओमराज गुरुङको धन्यवाद ज्ञापन गरेको सो कार्यक्रममा पेन्सिलभिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका बालबालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताएको बताउनु भयो ।

आयोजक संस्थाका वेद व्यास काफ्लेले दिएको जानकारीअनुसार कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायनका कक्षाको पहिलो वर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.