तिहार विशेष मौसम बुलेटिन: झरी पर्ने सम्भावना छैन

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ ।

सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहने उल्लेख छ ।

बुलेटिनमा बाँकी भागमा मौसम मूख्यतया सफा रहने देखिएको विभागले जानकारी गराएको छ । बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बदली हुने बादलहरू लाग्ने देखिए पनि ठूलो झरीको सम्भावना भने नदेखिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ती प्रदेशका केही ठाउँमा हल्का बदली हुने, बादल लाग्ने, हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, पहाडी भूभागका एक/दुई स्थानमा मध्यमसम्म पनि वर्षा हुनसक्छ कि भन्ने जस्तो छ तर सोचेभन्दा कम पानी पर्ने देखिन्छ ।”

मौसमविद् अर्यालका अनुसार ठूलो झरी नै पर्ने खालको अवस्था छैन । पानी कम पर्ने अवस्था रहेको अहिलेसम्मको मोडलले देखाएछ । उहाँले तीनदिने मौसम बुलेटिन दैनिक सार्वजनिक हुने भएकाले कुनै नयाँ अवस्था सिर्जना भएमा नियमित रुपमा सार्वजनिक हुने पनि जानकारी दिनुभयो ।

विभागले मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने ३ दिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकाले महाशाखाको वेबसाइट हेर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.