आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज स्कटल्याण्डसँग खेल्दै
काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्यान्डसँग खेल्दै छ ।
नेपाल र स्कटल्यान्डबिचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।
स्कटल्यान्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ ।
स्कटल्यान्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । लिग टु को यस सिजनमा स्कटल्यान्ड र अमेरिकाले २-२ खेल जितेर समान ४ अङ्क जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अङ्क मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रूपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।
स्कटल्यान्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेसम्म यी दुई टोलीले कूल ७ ओडिआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्यान्डले ३ खेल जितेको छ ।
लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अङ्क जोडेका छन् । तर नेटरनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ ।
स्कटल्यान्ड १० खेलबाट १३ अङ्क जोडेर तेस्रो स्थानमा छ । नेपाल ११ खेलबाट ५ अङ्कसहित सातौँ स्थानमा छ । लिग टु मा अहिलेसम्म नेपाल सबैभन्दा धेरै ८ खेलमा पराजित भएको छ । नेपालभन्दा पछि युएई मात्र छ । युएईले ९ खेलमा २ खेल जित्दै ४ अङ्क जोडेको छ ।
प्रतिक्रिया राख्नुहोस्