प्रशासनमा क्युआर कोडबाट गुनासो, सर्वसाधारणलाई सहजता
नुवाकोट- सर्वसाधारणको सहजताका लागि नुवाकोट प्रशासनमा क्युआर कोडबाट गुनासो गर्ने व्यवस्था सञ्चालन भएको छ । यसबाट आम सर्वसाधारण निकै खुसी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्युआर कोड प्रयोग गरी गुनासो गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको हो । कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाको बारेमा सेवाग्राहीको कुनै गुनासो भए क्युआर कोडमार्फत गुनासो राख्न सकिने प्रणाली सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्युआर कोडमार्फत दैनिक ५÷६ वटा गुनासो आइरहेको छ । डिजिटलाइज प्रविधिलाई माध्यम बनाएर कार्य प्रभावकारी बनाउन उक्त कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाई छ ।
आम उपभोक्ता र सर्वसाधारण जनसमुदायको चासो र हितलाई ध्यानमा राखी ‘स्वच्छ प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ भन्ने नारालाई साकार पार्न उपभोक्ताले क्यूआरमार्फत यस कार्यालय र सम्बन्धित निकायमा गुनासो पेस गर्न सकिने प्रणाली सञ्चालनमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले जानकारी दिनुभयो । हुमागाईँका अनुसार खाद्यान्न तथा अन्य वस्तु, होटेल तथा खाजा घरको सेवा, यातायात सेवा र औषधी पसलको सेवा सम्बन्धी गुनासो राख्न सकिने व्यवस्था गरिएको छ ।
कार्यालयले नुवाकोटको १२ वटै स्थानीय तह र विभिन्न सरोकारवाला सबै निकायबाट प्रवाह हुने सेवाको गुनासो गर्न सेवाग्राही सबैलाई आग्रह गरेको छ । हालसम्म क्युआर कोडमार्फत उजुरी आउने क्रम बढिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्