सरकारलाई सफल बनाउन काँग्रेस र एमालेले जिल्ला तहसम्म संयन्त्र बनाउने
केन्द्रमा दुई दलका शीर्ष नेताहरु सम्मिलिन संयन्त्रको कार्यदल निर्माण
काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई प्रभावकारी बनाउन जिल्ला तहसम्म दुई दलीय संयन्त्र निर्माण गर्ने भएका छन् ।
केन्द्रमा भने शीर्ष नेता सम्मिलित संयन्त्रको ८ सदस्यीय कार्यदलको निर्माण गरिएको छ । प्रदेश र जिल्ला तहसम्म यसलाई विस्तार गरिने बताइएको छ ।
नेपाली काँग्रेसेले एक विज्ञप्ति मार्फत नेकपा (एमाले) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दुई दलीय राजनीतिक संयन्त्र निर्माण गरिएको जानकारी गराएको हो ।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति माननीय पूर्णबहादुर खड्का, महामन्त्री माननीय गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री माननीय रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा रहनु भएको छ भने नेकपा (एमाले) को तर्फबाट बरिष्ठ उपाध्यक्ष श्री ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री माननीय विष्णुप्रसाद पौडेल, महासचिव श्री शंकर पोखरेल र उपमहासचिव श्री विष्णु रिमाल रहनु भएको छ ।
यसैगरी प्रदेश र जिल्ला तहमा पनि दुई दलीय संयन्त्र बनाउने निर्णय भएको विज्ञप्तिमा जानकारी गराइको छ ।
हिजो मिति २०८१ कार्तिक २० गते दुइ दलीय संयन्त्रको कार्यदलको पहिलो बैठक बसी देहाय बमोजिमको निर्णय गरेको छ ।
कार्यदलको संयोजन दुई दलले एक–एक महिना पालै पालो गर्ने छन् । पहिलो महिना
(कार्तिक २१ देखि मंसिर २० सम्म) नेपाली कांग्रेसका उपसभापति श्री पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्नुहुने निर्णय भएको छ ।
त्यसै गरी चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्नेका साथै दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया राख्नुहोस्