बाढीले क्षति पुर्याएको झोलुङ्गे पुलको मर्मत सुरु
धादिङ – गत असोज महिनामा तिन दिनसम्म परेको अविरल वर्षासंगै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएको झोलुङ्गे पुलको मर्मत सुरु भएको छ ।
विशेष गरी त्रिशूली नदी पारीका बस्तीहरूलाई धादिङको पृथ्वी राजमार्गसंग जोड्नका लागी भत्किएका झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु गरेको हो । तर गण्डकी गाउँपालिकाका स्थानीयले भने हरेक वर्ष बाढीका कारण पुलहरूमा क्षति पुग्ने गरेकोले मर्मत मात्रै होइन नयाँ पुल निर्माणको माग गरेका छन् । यसो त पक्की मोटरएवल पुलको माग समेत गण्डकी गाउँपालिकाका स्थानीयको छ ।
धादिङ र गोर्खा जिल्लालाई सहजै सडक सञ्जालमा जोड्नका लागी निर्माण गरेको यस्ता झोलुङ्गे पुलहरू भत्किँदा, विशेष गरी गोर्खाको गण्डकी गाउँपालिकाका सयौँ घर परिवारले त्रिशूली नदी वारपारमा निकै सास्ती खेप्नु परेको छ ।
अहिले गोर्खाको गण्डकी गाउँपालिका स्थित धावडीघाट र धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका बासिन्दा त्रिशूली नदी तर्नका लागी धावडीघाटमा भत्किएको पुल मर्मत कार्य सुरु गरसएको हो ।
गण्डकी गाउँपालिकाकै भुम्ली चोक र धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका तिक्राङ् खानीमा भने बाँस राखेर मानिसहरू वारपार गर्न मिल्ने बनाइ सकिएको छ ।
निर्वाचनका बेला पनि गण्डकी गाउँपालिकाको सो स्थानमा पक्की मोटरएवल पुल निर्माणको मुघ्दालाई प्रमुख एजेन्डा बनाउँदै विभिन्न राजनीतिक दलका नेताहरूले स्थानीयसंग मत माग्ने गरेको बताउँदै निर्वाचन पछि त राजनीतिक दलका नेता फर्केर समेत नआउने स्थानीयको दुखेसो छ ।
अहिले सो झोलुङ्गे पुल डोलिडारको सहयोगमा दश लाख रुपैयाँको लगानीमा मर्मत कार्य भईरहेको छ। सो रकमले लट्ठा सोझो बनाई बाँस राखेर पुलबाट वारपार गर्न अस्थायी रूपमा मर्मत गर्न लागेको जनाइएको छ । पुल मर्मत गर्न करिब एक करोड रुपंयाँ लाग्ने अनुमान प्राविधिकहरूको छ ।
सो क्षेत्रमा मात्रै करिब चार हजार सात सय घर परिवारका मानिसहरूको बसोबास रहेको छ । त्रिशूली नदीमा आएको बाढीले धादिङलाई गोर्खाको गण्डकी गाउँपालिकासँग जोड्नका लागी राखिएको दुई झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति पुर्याएको थियो ।
—
प्रतिक्रिया राख्नुहोस्