१५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरणले आफ्नो कानुनमा रहेर बक्यौता उठाउछ: कुलमान
संस्थामा रहेर राजनीति गर्नु र नाजायज फाइदा लिने मेरो उदेश्य छैन
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र उद्योगीहरुले डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरे प्राधिकरणले आफ्नो ऐन कानुनमा रहेर बक्यौता रकम उठाउने प्रक्रियामा अघि बढाउने बताउनु भएको छ ।
प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई लाइन जोड्ने निर्देशन भएको र उक्त निर्देशन कार्यान्वयमा गइसकेको भन्दै उद्योगहरुले पनि सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता तिर्ने विश्वास व्यक्त गर्नु भयो ।
‘१५ दिनभित्र उहाँहरूले नदिए हामीले गरेको बिल नबुझाए हामी आफ्नो प्रक्रियामा फेरी लाग्नेछौँ । सरकारले भनिसकेको छ १५ दिनभित्र बक्यौता रकम असुल गर्नू,’ घिसिङ्गले भन्नुभयो, ‘यो नेपाल सरकार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको दायित्वभित्र आएको छ ।’ १५ दिनभित्र बक्यौता नउठे अब सरकार र मन्त्रालय बक्यौता उठाउनेतर्फ लाग्ने छ । हामीलाई विश्वास छ । अब यो सरकार मन्त्रालय र प्राधिकरणको मात्रै सरोकारको विषय रहेन । आम जनसरोकारको विषय बन्नेछ । आम पब्लिकबाट पनि गम्भीर रूपमा उठ्ने लागेको छ ।’ घिसिङले भन्नुभयो ।
निर्देशक घिसिङले आफु राज्यलाई तिर्नुपर्ने राजस्व उठाउन प्रतिवद्ध रहेको दोहोराउनु भयो । बक्यौता उठाउने कुराबाट आफू पछि नहट्ने र उच्च मनोबलसहित लाग्ने उहाँको भनाइ छ ।
‘उद्योगीले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाउनेछु। विचलित हुनेछैन। उच्च मनोबलसाथ लाग्नेछु,’ घिसिङ्गले भन्नु भयो । नेपालको संविधान, ऐन, कानुनमा रहेर आफूले काम गरेको दाबी गर्दै उहाँले ‘कुलमानले दुःख दिने काम गर्छ भन्नु गलत आरोप रहेको उहाँको भनाइ थियो ।
‘नेपालको संविधान, ऐन, कानुनमा रहेर काम गरेको छु। त्यसो देश र संस्थाको हितका लागि हो।’ संस्थाको राजस्व उठाउन खोज्दला नाजायज रकम उठाउने प्रयास भएको भन्नु गलत हो । ‘हामीले उद्योगीले देशको अर्थतन्त्रमा गरेको योगदानको उच्च प्रशंसा गरेका छौँ। देश र संथाको हित र राजस्व उठाउनेबाहेक मेरो अन्य राजनीतिक स्वार्थ छैन। संथामा रहेर राजनीति गर्नु र नाजायज फाइदा लिने कुनै उद्देश्य छैन। संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउन खोज्यो भन्नु गलत हो,’ पत्रकार सम्मेलनमा घिसिङले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्