जलवायु परिवर्तनबाट हुने सङ्कटलाई कम गर्न सरकार प्रतिबद्ध छ: वन मन्त्री शाही
काठमाडौँ – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालको झन्डै ८० प्रतिशत जनसङ्ख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उहाँले सो असरलाई कम गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेको बताउनुभएको हो । विश्व बाल दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु सङ्कटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरूको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताउनु भयो । जलवायु सङ्कट बाल अधिकारको सङ्कट पनि भएको उल्लेख गर्दै उहाँले त्यस्ता सङ्कट समाधानका लागि सरकारले जलवायु सङ्कटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पार्नुभयो ।
मन्त्री शाहीले भन्नुभयो, ‘जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु । जलवायु सङ्कटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरूको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीतिहरू र कार्यक्रमहरूको कार्यान्वयनलाई प्राथमिकता दिई आएको छ । र, दिने नै छ । जलवायु सङ्कट केबल विश्वव्यापी आपत्काल मात्रै होइन, यो एउटा बालबालिका बाल अधिकारको सङ्कट पनि हो । यसले शिक्षा, स्वाम्य, सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई पनि खतरामा पार्छ । नेपालको झन्डै ८० प्रतिशत जनसङ्ख्या जलवायु प्रेरित जोखिमहरूको सामना गरिरहेको अवस्थामा पनि बालबालिका र युवाहरू यस सङ्कटबाट बढी प्रभावित भएका छन् । युनिसेफले भर्खरै प्रकाशित गरेको जुन पुस्तक छ, त्यो प्रतिवेदनले बालबालिका र युवाहरूले जलवायु सम्बन्धी क्रियाकलापहरूबारे लिएका बाचाहरूलाई समेटेको छ । र प्रतिवेदनमा समेटिएका तपाईँहरूका आवाज हाम्रै भविष्यका लागि आशाका दीप हुन् । यस प्रतिवेदनले तपाईँहरूको प्रतिविद्धतालाई पनि उजागर गरेको छ । म आफ्नो परिवार र समुदायमा जलवायु परिवर्तनका जनचेतना फैल्याउने, कार्बन फुटप्रिन्ट घटाउने स्रोतहरूको संरक्षण गर्ने र जलवायु अभियानको पैरवी पनि गरिरहेको छु । र गर्ने नै छु ।’
त्यस अवसरमा मन्त्री शाहीले जलवायु सङ्कट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्