लोकरिझ्याँईको राजनीति गलत हो: मन्त्री गुरुङ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताउनुभएको छ ।

बुधवार काठमाडौँमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज नै ढोँगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताउनु भयो । उहाँले कलाकारको बिचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याँई का अभिव्यक्ति दिनु नहुने बताउनु भयो । उहाँले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताउनु भयो ।सही पात्र नपाउँदा देश विकास हुन नसकेको मन्त्री गुरुङको भनाइ छ । उहाँले विषय विज्ञहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समाज नै ढोँगी समाज भयो । समाज एकदम ढोँगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्ने कुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यस कारण यो ढोँगी चिजहरू नगरौँ भन्ने मान्यता मेरो हो । कलाकारको बिचमा आयो म पनि कलाकार नै थिएँ । मजदुरको बिचमा गयो भने म पनि मजदुरकै नेता नै थिएँ भन्दिने । लोकरिझ्याँईको पोलिटिक्स गलत कुरा हो । जे सही हो सही भन्नुपर्छ, जे गलत हो गलत भन्नुपर्छ । हामी जस्तो मन्त्रीहरू सबै बुझेको छु भन्छ । हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । तपाईँहरूले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलाउन यति क्वालिफिकेशन, अनुभव, योग्यता चाहिन्छ भन्ने कुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । त्यो हाम्रो विभिन्न क्षेत्र अस्तव्यस्त भएको कारण नै के हो भने त्यसले सही पात्र नै पाएको छैन । खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुद मन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वन मन्त्री भइरहेको हुन्छ । त्यस्तै त्यस्तै म पनि त्यही भित्र पर्छु जस्तो लाग्छ मलाई । म यो सञ्चारको धेरै कुरा नै बुझेको छैन । म जे गर्छु, जनताका लागि गर्छु । जनतालाई नढाँट्ने, जति सकिन्छ त्यति मात्रै गर्ने भन्ने । चलचित्र विकास बोर्डको विधेयक पुराना छन्, आजको दिनमा चल्न सक्ने ऐन बनाउनु छ । मन्त्रालयले ड्राफ्ट गरिसकेको छ, अब क्याबिनेटमा जान्छ ।’

मन्त्री गुरुङ नयाँ चलचित्र ऐन, २०८१÷०८२ भित्र ल्याइसक्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.