नगर बासीका लागि ब्याज अनुदान कार्यक्रम लागू

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरपालिकावासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको हो ।

लगानी अभावका कारण व्यवसाय गर्न नपाएका तथा ऋण लिएर ब्याज तिर्न नसकिरहेका नगरवासीलाई आफ्नै गाउँमा स्वरोजगार बनाउने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । कृषि, पशुपालन, लघु उद्यम, होम–स्टे, दुना टपरी, पुष्प खेती, मौरी पालन, फलफूल खेती, फलफूल प्रशोधन केन्द्र, दूध डेरी सञ्चालन लगायतका क्षेत्रमा लगानी गरेका तथा गर्न चाहने व्यवसायीलाई ब्याजमा अनुदान दिने कार्यक्रम ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय गर्न चाहने नगरवासीका लागि तीन वर्षे ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्न कार्यविधि बनाएको मेयर राईको भनाई छ ।

व्यवसाय सञ्चालनका लागि बैङ्क तथा वित्तीय संस्थाबाट नगरवासीले लिएका पाँच लाख रुपैयाँ सम्मको ऋणको ब्याज अनुदानको रूपमा नगरपालिकाको तर्फबाट तीन वर्षसम्म तिरिदिने कार्यविधि बनाइएको छ । यो कार्यक्रममा महिला, एकल महिला, दलित र वैदेशिक रोजगारीबाट फर्केका नगरवासीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

व्यवसाय सञ्चालन गर्न चाहने तथा गरिरहेका नगरवासीले बैङ्क तथा वित्तीय संस्थाको सम्पूर्ण प्रक्रिया पूरा गरेर सम्झौताका लागि नगरपालिकामा सम्पर्क गर्नुपर्ने नगर कार्यपालिकाबाट पारित कार्यविधिमा उल्लेख छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.