देशमै रोजगारी सिर्जना गर्न सरकारलाई काँग्रेसको सुझाव
काठमाडौँ – नेपाली काँग्रेसले युवाहरूको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ ।
काँग्रेस नेता भूपेन्द्र शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा सङ्कल्प यात्राको निचोड सार्वजनिक गर्दै काँग्रेसले सो सुझाव पेस गरेको हो । बिहीबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता शाहीले सरकारले छिटो भन्दा छिटो युवालाई रोजगारी सिर्जना हुने कामहरू गर्नुपर्ने माग आम जनता र युवाहरूको रहेको बताउनु भयो । उहाँले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरू आक्रोशित भएको र युवाहरूको आक्रोशलाई नजरअन्दाज गर्दा भविष्यमा ठुलो विद्रोह पैदा हुनसक्ने चेतावनी दिनुभयो । उहाँले आफ्नो दलको सरकार रहे पनि आफूहरूले युवा, बेरोजगार पीडितहरूको पक्षमा, सहकारी पीडितको पक्षमा, महँगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा आवाज उठाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सडकमा चक्का जाम गरेर भाषण गर्नुपर्ने अवस्थाले युवाहरू आक्रोशित हुन स्वाभाविक रहेको पुष्टि हुने उहाँको जिकिर थियो ।
उहाँले भन्नुभयो, ‘हामीले युवाको पक्षमा, बेरोजगार पीडितहरूको पक्षमा, सहकारी पीडितको पक्षमा, महँगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा हामीले आवाज उठाउनै पर्छ । प्रधानमन्त्री स्वयं आएर सडकमा चक्का जाम गरेर भाषण गर्नुहुन्छ भने हामी युवाहरूले जनताको पक्षमा, युवाको पक्षमा आवाज उठाएर हिँड्ने कुरा त्यो अस्वाभाविक होइन । हामी हाम्रो सरकारलाई पनि के आग्रह गर्न चाहन्छौँ भने देशभर हामी हिँड्यौँ । युवाहरूको कुरा सुन्यौँ । बेरोजगारीको यस्तो विकराल अवस्था छ आज देशमा, युवाहरूमा यति ठुलो आक्रोश छ, त्यो सबैलाई थाहा छ । हाम्रो पार्टीका नेताहरू, हाम्रो सरकार यो कुरालाई नजरअन्दाज गरेर खालि सत्तामा मात्रै रमाइरहने हो भने भोलि ठुलो समस्या आउन सक्छ । भोलि युवाको आक्रोश विद्रोहमा परिणत हुनसक्छ । त्यो हुँदा देशको हालत कहाँ पुग्छ । देशले भोलि ठुलो आन्दोलन खेप्नुपर्यो । त्यसैले हामी आजै सरकारको आँखा खुलाउन चाहन्छौँ ।’
नेता शाहीले आम जनताले अहिले सबैभन्दा बढी सरकार र राजनीतिक दलहरुसँग भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्ने चाहना राखेको बताउनु भयो । कार्तिक २३ गतेबाट मेचीनगरदेखि सुरु भएको युवा सङ्कल्प यात्रा मङ्सिर ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्