शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर छ: प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न आफूले भरपुर पहल गरेको स्मरण गर्नु भएको छ।
प्रधानमन्त्री ओलीले मानवीय हिसाबले कष्टकर जीवन यापन गर्दै आएका भुटानी शरणार्थीलाई आफ्नो समेत पहलमा तेस्रो मुलुक हस्तान्तरण गरेको बताउनु भयो ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्ट्रा फाउन्डेसनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले भुटानी शरणार्थी तेस्रो मुलुक हस्तान्तरणमा पहल गर्दा आफूमाथि छुद्र टिप्पणी भएको भन्दै दुःख समेत व्यक्त गर्नुभयो । ‘मानवीय दृष्टिले मैले शरणार्थी शिविरमा कष्टकर जीवन यापन गर्दै आएका एक लाख बढी भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न पहल गर्दा ममाथि अकेन प्रकारका छुद्र टिप्पणी भए,’ प्रधानमन्त्री ओलीले भन्नू भयो ।
उहाँले भुटानले नेपाली भएकै कारण नेपाली भाषीलाई देश निकाला गरेको उल्लेख गर्दै अब अहिले तेस्रो देशमा पुनर्स्थापना भएका नेपालीभाषाी भुटानीलाई भुटानले शरणार्थीसमेत भन्न छाडेको बताउनु भयो । तर तेस्रो मुलुक पुनर्स्थापना भएका भुटानी योग्य र सक्षम भएको उल्लेख गर्दैै आगामी दिनमा भुटानले दक्ष जनशक्तिको रूपमा पहिला लखेटेका नागरिकलाई फिर्ता बोलाउने दाबी गर्नुभयो ।
उहाँले अहिले पनि शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भयो। नेपाली मूलका भुटानी-अमेरिकी संस्था इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शिविरमा बाकी रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नु भयो ।
शरणार्थी शिविरमा बाँकी रहेका शरणार्थीलाई फाउन्डेसनले शिक्षा तथा खाद्यान्नलगायतमा सहयोग गरिरहेको उल्लेख गर्नुभयो।
शिविरमा रहेका बालबालिकालाई शिक्षा तथा बृद्धबृद्धालाई पोषणयुक्त खाद्यान्नमा फाउन्डेसनले सहयोग गरिरहेको उहाँको भनाइ थियो । सो अवसरमा इन्ट्रा फाउन्डेसनले विश्वभरका नेपालीहरूबिचको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ का विषयमा जानकारी गराइएको थियो ।
सो अवसरमा फाउन्डेसनका अध्यक्ष अधिकारीसँगै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराई, सचिव गोपाल धिताल, बोर्ड सदस्य ओम गुरुङलगायत सहभागी थिए।
प्रतिक्रिया राख्नुहोस्