नौमती बाजा बजाउन सिक्दै भुम्लुका महिलाहरू
काभ्रे– लोप हुँदै गएको नौमती पञ्चेबाजा संरक्षण र सीपलाई प्रवर्द्धन गर्नका लागि यहाँका महिलाहरू सामूहिक रूपमा जुटेका छन् । काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ६ कोलाती भुम्लुका दलित महिलाहरू लोप हुँदै गएको नौमती पञ्चेबाजा संरक्षणका लागि बजाउने सीप र कला सिक्न जुटेका हुन् ।
भुम्लु गाउँपालिका वडा नं. ६ का महिलाहरूले ‘कोलाती पञ्चेबाजा महिला समूह’ नै गठन गरी तालिमको आयोजना गरेका छन् । तालिममा सहभागी कोलाती भुम्लुका सरिता ढल्कोटीले बाजा बजाउने सीप सिक्नका लागि दिदी बहिनीहरू मिलेर समूह नै गठन गरी प्रशिक्षण लिन थालेको बताउनुभयो ।
सोही ठाउँका गीता नेपालीले पहिलादेखि नै बजाउन भित्रैदेखि मन लागिरहेको सीप बल्ल अहिले आएर सिक्न पाएर खुसी लागेको बताउनुभयो । सिकेको कुरालाई निरन्तरता दिएर व्यावसायिक बन्ने गरी नै अगाडी बढ्ने उहाँको भनाई छ । पुरानो पेसालाई व्यावसायिक रूपमा अगाडी बढाउन सकेको खण्डमा आम्दानी समेत हुने भएकाले सीप र कलालाई तिखार्दै लैजाने उहाँ बताउनुहुन्छ ।
सो तालिमको प्रशिक्षक समेत रहनुभएका कला घर सिन्धुलीका उपाध्यक्ष पवित्रा रम्तेलले सीप र कला सिकेर केही गरौँ भन्ने जाँगर र उत्साह बोकेर बस्नुभएका यहाँका दिदी बहिनीहरूलाई आफूले जानको सीप सिकाउन पाउँदा खुसी लागेको बताउनुभयो ।
भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले लोपोन्मुख रहेको लोक संस्कृति पञ्चेबाजा संरक्षण र संवद्र्धनसंगै कलाको विकास गर्ने उद्देश्यले पालिकाको सहयोगमा तालिमको आयोजना गरेको बताउनुभयो ।
तालिमपछि कलाघर नै निर्माण गरेर बाजाको संरक्षण मात्रै नभएर सीप र कलाको विकास र व्यावसायिक बनाउनेतर्फ पालिकाले योजना अगाडी सारेको उहाँले बताउनुभयो ।
मङ्सिर ११ गतेदेखि सुरु भएर दश दिनसम्म चल्ने तालिममा यहाँका १८ जना महिलाहरू सहभागी छन् । तालिममा कलाघरका उपाध्यक्ष पवित्रा रम्तेल, सचिव रिता थिङ र सदस्य रिता विकले प्रशिक्षण दिइरहनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्