विवाहपञ्चमी महोत्सव हेर्न २० लाख बढी दर्शनार्थीहरु सहभागी (तस्वीरमा)

धनुषा- श्री सीताराम विवाहपञ्चमी महामहोत्सवका लागि जानकी मन्दिरकै प्राङ्गणमै विवाहमण्डप बनाइएको छ । जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको समयमा हजारौँ श्रद्धालुको सहभागिता रह्यो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार यस पटक विवाहपञ्चमी महामहोत्सवमा करिब २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी भए । त्रेतायुगको झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि नेपाल, भारत र तेस्रो मुलुकबाट हजारौँ दर्शनार्थीहरू जनकपुरधाम आइपुगेको हो ।

सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह विधि हेर्न भक्त्तजनको घुइँचो। 

यस पटक प्रत्येक ५ वर्षमा अयोध्याबाट आउने जन्ती पनि आएका छन् । अयोध्याबाट रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठी, विश्व हिन्दू परिषद् केन्द्रीय मन्त्री राजेन्द्र सिंह पङ्कज सहितका व्यक्ति जन्तीमा आएको छ ।

जकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रमको प्रत्येक वर्ष आयोजना हुनेगर्छ । वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै रामजानकी विवाहका लागिसमेत मण्डप सजाएको छ ।

जनकपुरधामस्थित रहेको जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीका लागि सिङ्गारिएको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले छोरी बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको बताउनुभयो ।

विवाह पञ्चमीमा रथयात्रा
सुनसरी, २१ मङ्सिरः सुनसरीको इनरुवा नगरपालिका–४ स्थित रामजानकी गुठी संस्थाले विवाह पञ्चमीका अवसरमा शुक्रबार आयोजना गरेको रथयात्रा । 

महन्त दासका अनुसार बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छ । यता राम मन्दिरका महन्त बाबा राम गिरि पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन् । उहाँले भन्नुभयो, “सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोर हुनु स्वाभाविक नै हो ।”

त्रेतायुगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाममा नगरदर्शन गराइन्छ ।

जानकी मन्दिरमा भक्तजन
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको प्रतिकात्मक वैवाहिक कार्यक्रम हेर्ने भक्तजनहरुको घुइँचो । 

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेतायुगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको जानकार डा राजेन्द्र विमल बताउँछन् ।

यो विधि जानकी मन्दिरकै छेउमै रहेको विवाहमण्डपको फूलबारीमा गर्ने गरिन्छ । तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको अर्का जानकार संस्कृतविद् एवं पण्डित मुकेश प्रतिहस्तले बताउनुभयो ।

विवाह पञ्चमी
धनुषाधाम, २१ मङ्सिरः विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको स्वयम्बर हेर्ने भक्तजनको भीड । 

त्रेतायुगमा सो धनुष यज्ञको आयोजन रङ्गभूमि मैदान १२ बिघामा भएको जनविश्वास छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ । महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारोको श्रद्धालुका बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ, जानकारहरू बताउँछन् ।

भारतको उत्तर प्रदेश अयोध्याबाट जन्तीको नेतृत्व गरी आउनुभएका रामजन्मभूमि ट्रष्टका महासचिव चम्पत रायले विवाहपञ्चमी महोत्सवले नेपाल–भारत बीचको प्राचीन सम्बन्धलाई नयाँ स्तरमा अझ बढी प्रगाढ बनाउने काम गर्ने गरेको बताउनुभयो ।

त्यस्तै, अयोध्याका प्रमुख गिरिशपति त्रिपाठीले विवाहपञ्चमी महोत्सवले नेपाल–भारतको संस्कृति, धार्मिक तथा भावनात्मक एकतालाई प्रगाढ बनाएर जीवन्त बनाउने काम गरेको उल्लेख गर्नुभयो ।

उता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था बताउनुभयो । उहाँले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य भएको बताउनुभयो ।

विवाह पञ्चमी
विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज जनकपुरधामस्थित ब्राहविघा रङ्गभूमि मैदानमा राखिएको मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी माता सीताको डोला। 

मेला हेर्न आएको उत्तर प्रदेश राज्यको बोकडा घर भएको ५८ वर्षीय भोला यादवलेले भन्नुभयो, “जनकपुरधाम नाम मात्रै सुनेको थियो, आज प्रत्यक्ष हेरिएको छु । सुनेभन्दा आएर हेरे त्योभन्दा राम्रो रहेको र मन गद्गद भएको बताउँछ ।”

जनकपुरधाममा अयोध्याबाट आएका जन्ती विभिन्न कार्यक्रममा सरिक भइरहेको भन्दै देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आएका श्रद्धालुभक्तजनहरूलाई आफ्नै घरमा भए पनि बासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिँहले जनकपुरधामवासीसँग आग्रह गर्नुभएको छ ।

तिलकोत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर आउँछ । जहाँ जानकी मन्दिरका महन्त र राम मन्दिरका महन्तबीच अङ्कमाल हुन्छ । तिलकोत्सवमा सहभागी महिलाहरू रामजानकीको बिहेका गीतहरू गाउँछन् भने हास्यपरिहासको माहौलसमेत हुन्छ । जसरी मिथिलामा समाधिलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुवै पक्षबाट गालीसहित हँसीठट्टा गरिन्छ ।

जानकी मन्दिरमा भक्तजन
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवमाको मुख्य दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा विवाह विधि हेर्न भक्त्तजनको घुइँचो। 

राम मन्दिरका महन्त राम गिरिका अनुसार समाधि मिलन कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त, पुजारीहरू सहभागी हुने गर्दछ भने राम मन्दिरबाट महन्त स्वयम्, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरू सहभागी हुन्छन् । महोत्सवको पाँचौँ दिन मटकोर विधि गरिन्छ ।

मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाहरूले जनकपुरधामकै पवित्र सरोवर रहेको गङ्गासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्पराअनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गरिन्छ । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।

छैटौँ दिन ऐतिहासिक रङ्गभूमी मैदानमा स्वयंवर विधि सम्पन्न भएको छ भने शुक्रबार राति वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ । स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रङ्गभूमि मैदान १२ बिघा पुग्ने गर्छ ।

स्वयंवरपछि दुवै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ जहाँ वैवाहिक कार्यक्रम हुनेगर्छ । शुक्रबार राति हुने सो वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीतहरू गाउने गर्छन् ।

विवाहपञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ । जसलाई रामकलेवा भनिन्छ ।

राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गर्नेसमेत परम्परा रहेको छ । मन्दिरका पुजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छ । जसले अदभुत वातावरणको निर्माण गर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.