अयोध्या नगर निगम सँग भगिनी सम्बन्ध विस्तार गर्न महानगरपालिकाले पहल थाल्यो

पर्सा- भारतको उत्तर प्रदेशमा रहेको अयोध्या नगर निगमसँग भगिनी सम्बन्ध विस्तार गर्न वीरगन्ज महानगरपालिकाले पहल सुरु गरेको छ । विवाह पञ्चमीमा सहभागी हुन भारतबाट जनकपुर आउनु भएका अयोध्या नगर निगमका मेयर गिरीश पति त्रिपाठीलाई वीरगन्जमा स्वागत गर्दै महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सम्बन्ध विस्तारको पहल गर्नु भएको हो ।
विवाह पञ्चमीमा सहभागी हुने आएका मेयर त्रिपाठी नगर प्रमुख सिंहको आमन्त्रणमा वीरगन्ज आउनु भएको हो ।
महानगरपालिका भित्र रहेका सयौँ वर्ष पुराना मठ मन्त्री तथा पर्यटकीय स्थलबारे भारतमा खासै जानकारी नभएको र यहाँ भएको धार्मिक पर्यटन स्थलबारे मेयर त्रिपाठीलाई जानकारी गराई धार्मिक पर्यटनलाई अभिवृद्धि गर्ने प्रयास गरिएको नगर प्रमुख सिंहले जानकारी दिनुभयो । उहाँले महानगरपालिकाले थालनी गरेको वैभव वीरगन्जको अभियान अन्तरगत यस भेगमा धार्मिक तथा पर्यटकीय स्तरको प्रचार प्रसारलाई अभिवृद्धि गरी भारतीय पर्यटकलाई वीरगन्ज भित्र्याउन मेयर त्रिपाठीलाई वीरगन्जमा आमन्त्रण गरिएको बताउनुभयो ।
अयोध्या नगर निगम र वीरगन्ज महानगरपालिका बिच भगिनी सम्बन्ध विस्तार गर्न आवश्यक कानुनी प्रकृयालाई पुरा गरी चाँडै औपचारिक कार्यक्रम मार्फत घोषणा गर्ने अयोध्याका मेयर त्रिपाठी सँग छलफल भएको नगर प्रमुख सिंहले जानकारी दिनुभयो ।
वीरगन्ज आउनु भएका मेयर त्रिपाठी सहितको टोलीलाई वीरगन्जको प्रसिद्ध पर्यटकीय स्थल घडि आर्व पोखरी, शंखराचार्यव्दार, राम जानकी मन्दिर लगायतका स्थानको अवलोकन भ्रमण महानगरपालिकाले गराएको छ ।






प्रतिक्रिया राख्नुहोस्