लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव

लुम्बिनी – नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आयोजना गर्यो। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय राजदूतावासले आइतबार महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।
महोत्सवको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने,लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्म जय तिमिल्सिना,लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप प्रमुख श्री प्रसन्न श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
आइतबार साँझ नेपाल र भारतका प्रख्यात कलाकारहरूको प्रस्तुति सहितको एक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण श्रीमती शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मको विषयमा आधारित कथक नृत्यको प्रस्तुति थियो। यो प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले सहयोग गरेको थियो। सोही कार्यक्रममा श्री स्वजन रघु वंशी र उहाँको समूहले परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरेका थिए।
महोत्सवको एक हिस्साको रूपमा आइतबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा भारत र नेपालको बौद्ध सांस्कृतिक सम्पदाू विषयकमा शैक्षिक गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीमा भारत र नेपालका प्रख्यात बौद्ध विद्वानहरू सहभागी हुनुहुन्थ्यो। उहाँहरूले दुवै देशका बौद्ध सम्पदाको सांस्कृतिक र ऐतिहासिक महत्त्वका बारेमा आफ्नो बहुमूल्य अन्तर्दृष्टि साझा गर्नुभयो।
सोही दिन बिहान कथक नृत्याङ्गना श्रीमती शिखा शर्मा र उहाँको नृत्य समूहले कथक नृत्यकला बारे जानकारी गराउँदै रुपन्देहीको रोहिणी ३ स्थित श्री राम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग कुराकानी गर्नुभयो । यस विद्यालयको भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा निर्माण गरिएको हो। यस अन्तरक्रियाले भारतीय शास्त्रीय नृत्यको समृद्ध सम्पदालाई प्रवर्द्धन गर्नुका साथै विद्यालयका युवा विद्यार्थीहरूमाझ भारतीय कलाका विविध प्रकारमा गहिरो अभिरुचि राख्न प्रेरित गरेको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ।
महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कथक नृत्य समूहले काठमाडौँ र पोखरामा पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछ।
जनता(जनताबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै र हाम्रो सांस्कृतिक सम्पदालाई मनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपालबिचको सदियौँ पुरानो, विशिष्ट र घनिष्ठ सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले दुई देशबिचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई जोड दिएको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्