चिसोले जनजीवन प्रभावित

महोत्तरी –  लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् ।

“गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतो भन्नुहुन्छ, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ ।

महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डल बताउनुहुन्छ । मङ्सिरभित्रै बढेको ठिहिर्याउने चिसोले घरपालुवा पशुवस्तुको बिजोग छ । पशुवस्तुको आहाराको जोहो र चरनमा लान नपाइँदा बिजोग भएको हो । भङ्गाहा–४ रामनगरकी हीरादेवी दाहाल अचाक्ली बढेको चिसोले पशुवस्तु जिङ्र््याउने र बिरामी हुने क्रम बढेको बताउनुभयो ।

जाडोले बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरी बढी प्रभावित बनेका छन् । खासगरी श्वासप्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्ने बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदीप ठाकुर बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.