लुम्बिनी लायन्स ५ रनले पराजित

काठमाडौँ –  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत २२ औं खेलमा कर्णाली याक्सले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले हराएको हो ।

कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्रै बनाउन सक्यो ।

उसका लागि टम मुरेसले ३६, सन्दीप जोराले २४, आसुतोष घिरैया र साद बिन जफरले १६–१६, अर्जुन साउदले १३ तथा रोहित पौडेलले १० रन जोडे ।

बलिङतर्फ कर्णालीका जिसन मक्शुदले दुई तथा सोमपाल कामी, नन्दन यादव, विलियम बोसिस्टोले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । यस्तै, अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

बलिङमा लुम्बिनीका लागि विकास आग्रीले ३ विकेट लिँदा तिलक भण्डारीले २ विकेट लिए ।

जितसँगै कर्णालीले प्लेअफको सम्भावना बलियो बनाएको छ । अर्कोतर्फ लुम्बिनी भने प्लेअफको दौडबाट बाहिर भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.