बैतडी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी कोचिएर बस्न बाध्य
बैतडी – जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदी कोचिएर बस्न बाध्य छन् । ‘घ’ श्रेणीको जिल्ला कारागारको बन्दी क्षमता १० महिला र १५ पुरुष गरी २५ जनाको हो, तर यहाँ ६३ कैदी र १७ थुनुवा गरी ८० जना कैदीवन्दीहरु कोचिएर बस्न बाध्य रहेको जिल्ला कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताउनुभयो ।
पुरुष कैदी नै ८० जना भएकाले विगत धेरै वर्षदेखि यहाँका महिला कैदीहरूलाई डडेलधुरा कारागार पठाउने गरिएको छ । कैदी बन्दीहरूको नियमित स्वास्थ्य जाँचका लागि १ जना स्वास्थ्यकर्मीका दरबन्दी रहे पनि अहिले रिक्त छ । जसका कारण कैदीलाई सामान्य स्वास्थ्य समस्या देखिदा समेत जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्ला अस्पताल र कारागारको दुरी लगभग तीन किलोमिटरको छ ।
कारागारमा ६५ वर्ष नाघेका ३ जना ज्येष्ठ नागरिक (पुरुष) रहेको प्रमुख धारा भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार कारागारको भवन जीर्ण हुँदा कैदी वन्दीहरुलाई समस्या छ । क्षमताभन्दा तेब्बर भएकाले कैदी बन्दी टेन्टमा समेत बस्न बाध्य रहेको उहाँको भनाई छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पुर्व वार्षिक समीक्षामा उपस्थित अधिकार कर्मिहरुले समेत कारागारको अवस्था र कैदी वन्दीहरुको मानव अधिकारको सवालमा चिन्ता व्यक्त गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्