धनकुटाको कागतेमा सुन्तला एभोकाडो तथा फलफूल महोत्सव सुरु

धनकुटा-  स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव सुरु भएको छ। समृद्धि युवा क्लब, कागतेको आयोजनामा सुन्तला, एभोकाडो तथा फलफूल महोत्सव सुरु भएको हो।

आगामी पुस २० गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय कृषकहरूका उत्पादनलाई बजारमा पुर्‍याउनुका साथै नयाँ नयाँ सम्भावनाको  खोजी गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ। महोत्सवमा सुन्तला, एभोकाडो र अन्य फलफूलका परिकार, प्रदर्शनी र बिक्रीका स्टलहरू समावेश गरिएको छ। महोत्सवले कृषक, व्यवसायी र सर्वसाधारणबिच सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

महोत्सव समृद्धि युवा क्लबको पहलमा स्थानीय सरकार र समुदायको सहकार्यमा आयोजना गरिएको  क्लबका अध्यक्ष मोहन खानले जानकारी दिनुभयो। महोत्सवले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजको प्रदर्शनी र बजारीकरणमा सहयोग पुग्ने हुँदा यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने उहाँले बताउनु भयो।

महोत्सवको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यस्तो महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र कृषकहरूको आयआर्जनमा टेवा पुग्ने बताउनु भयो। उहाँले महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धनका साथै फलफूलको बजार विस्तारमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष विकास घिमिरेले महोत्सवले कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई सबल बनाउने र युवाहरूलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्नेमा जोड दिनुभयो। त्यस्तै, उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवले उद्योग र व्यवसायका लागि नयाँ सम्भावना उजागर गर्ने उल्लेख गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष विदुर खवासले महोत्सवले धनकुटाको उत्पादनलाई बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.