सौराहामा पौष ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव

 चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा पौष ११ देखि सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ ।

क्षेत्रीय होटेल संघ चितवन सौराहाको आयोजनामा महोत्सवको १८औँ संस्करण बाघ मारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुँदै छ ।

चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक बर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ । रत्न नगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने तय भएको छ ।

महोत्सवलाई भब्य बनाउन प्रचारप्रसार, मैदान तथा आन्तरिक व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

महोत्सवको अवसर पारेर व्यवसायीहरूले आन्तरिक तथा बाह्रय पर्यटकका लागि १० प्रतिशत छुट दिने घोषणा गरेको क्षेत्रिय होटल सङ्घका सचिव महेश खनालले बताउनुभयो ।

व्यवसायीहरूले पौष १० देखि १६ गते सम्म क्षेत्रीय होटेल सङ्घ नेपाल र रेवान सौराहामा आबद्ध संदस्यहरुको होटेल तथा रेस्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुटको व्यवस्था गरिएको सङ्घका अध्यक्ष गंगा गिरीले बताउनु भयो । जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा परिचित चितवनको पर्यटनलाई उकास्न सङ्घको आयोजना, यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था ली. र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो । सौराहामा दुई दशक अघि देखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहा सहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरूको आगमनमा वृद्धि हुने गरेको अध्यक्ष गिरीले बताउनुभयो । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलावा हात्तीको महत्त्व समेत उजागर गर्दै आएको भन्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमा महत्त्व राख्ने पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास बोकेको बताउनुभयो ।

हात्ती महोत्सव अन्तर्गत हात्तीको श्रृंगार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगोदौड प्रतियोगिता, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तरक्रिया कार्यक्रम हुने कार्यक्रम संयोजक रामकुमार अर्यालले जानकारी दिनुभयो । उल्लेखित विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी हुने जनाइएको छ । हात्ती तथा पर्यटन महोत्सव नजिकिँदै गर्दा व्यवसायीहरूले सौराहालाई सिँगार्न थालेका छन् ।

सौराहाका मुख्य बजारहरूलाई आकर्षण बनाउने र होटेल तथा रेष्टुरेन्टहरुलाई समेत सिँगार्न सुरु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.