सङ्कटको बेलामा काँग्रेस र कम्युनिस्ट मिल्दै आएका छन्: वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा काँग्रेस र कम्युनिस्ट मिल्दै आएका बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले ऐतिहासिक परिवर्तन गर्न र मुलुकको सङ्कट समाधान गर्न काँग्रेस एमाले एक ठाउँमा उभिने गरेका बताउनुभयो । ‘मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन्, राष्ट्रिय सङ्कट परेको बेलाका काँग्रेस र कम्युनिस्ट मिलेका छन्’, उहाँले भन्नुभयो ।
देशमा अप्ठेरो स्थिति परेको बेलमा मिलेका भए पनि काँग्रेस र एमाले एक आपसका प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा बिर्सन नमिल्ने पोखरेलले बताउनुभयो । कहिलेकाहीँ यो प्रतिस्पर्धा अस्वस्थ पनि हुने गरेको बताउँदै उहाँले त्यसलाई अस्वस्थ हुनबाट जोगाउन सबै लाग्नु पर्ने उहाँको धारणा छ ।
पत्रकारको समाजमा दोहोरो भूमिका भएको बताउँदै पोखरेलले लेख्न बस्दा भने पत्रकारले व्यावसायिक धर्म बिर्सनु नहुनेमा उहाँको जोड छ । ‘पत्रकारिताको धर्म पालना गर्दा व्यावसायिकताको झन्डालाई झुक्न दिनु हुँदैन, यो कुरामा सन्तुलन कायम गर्नुपर्छ, मादल बजाउँदा हार्मोनियम छुट्ने, हार्मोनियम बजाउँदा मादल छुट्नु हुँदैन’, उहाँले भन्नुभयो ।
पत्रकारिता क्षेत्रले सधैँ साँचो कुरा लेखिदिउन् भन्ने राजनीतिक क्षेत्रलाई लागि रहेन उहाँले बताउनुभयो । ‘झुट कुरा लेखेर बजारीकरण गर्न खोज्दा पीडा पनि हुन्छ, रिस पनि उठ्छ, दुःख पनि लाग्छ’, पोखरेलले भन्नुभयो ।
एउटा राजनीतिकर्मीको प्राप्त गरेको हैसियत सार्वजनिक सम्पत्ति हुने पोखरेलले बताउनुभयो । त्यसलाई बदनाम गराउने अधिकार कसैलाई नहुने बताउँदै उहाँले उसले बदमासी गरे पब्लिक अडिट हुने पोखरेलको धारणा छ । सञ्चार माध्यमले कसैलाई पनि त्यतिकै फत्तुर लगाइदिन नमिल्ने पोखरेलले बताउनुभयो । त्यतिकै फत्तुर सहनु पर्ने अभिशप्त स्थिति आउनु नहुने उहाँले प्रस्ट पार्नुभयो । ‘यदि सञ्चार जगत् यो अनुहारमा प्रस्तुत भयो भने कस्तो देखिएला ?’ पोखरेलले प्रश्न गर्नुभयो ।
राजनीति र सञ्चार क्षेत्रमा केही समस्या भए बसेर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । सबैको आधारभूत कुरा देश भक्ति भएको बताउँदै उहाँले सबैको एउटै उद्देश्य देशको रक्षामा केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिनुभयो । ‘यो देशको रक्षा गर्नु सबैको कर्तव्य हो, तर देशको रक्षा छिमेकीलाई गाली गरेर मात्र हुँदैन, स्वाभिमानले शिर ठड्याउँदा मात्र देशको रक्षा हुन्छ’, उहाँले भन्नुभयो ।
नेपाल दुई ठुला देशको बिचमा रहेको बताउँदै पोखरेलले दुवै देशसँग सन्तुलित सम्बन्ध राख्नु पर्नेमा उहाँले जोड दिनुभयो । नेतृत्वले छिमेकीसँग आँखा जुधाएर गफ गर्न सक्के हैसियत राख्नु पर्ने उहाँको धारणा छ । ‘हामी छिमेकीलाई मुख छाडेर गाली गर्ने कुरा पनि गलत हो भन्छौँ, छिमेकीसँग घुँडा टेकेर गिडगिडाउने कुरा पनि गलत हो भन्छौँ’, उहाँले भन्नुभयो ।
सञ्चार क्षेत्रले जियो पोलिटिकल सेन्सिभिटीलाई बुझेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । छिमेकीलाई तथानाम गाली गर्ने र घुँडा टेक्ने दुवै कुराबाट जोगिएर अघि बढ्ने कुरामा ध्यान जानु पर्ने पोखरेलको धारणा छ ।
यति बेला मुलुकको सङ्कट सामना गर्न ऐतिहासिक पृष्ठभूमि भएका दुई राजनीतिक पार्टी सरकारमा पुगेका कुरा बुझिदिन उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो । काँग्रेस एमाले बाँडिचुँडी खान सरकारमा नगएको उहाँले प्रस्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्