अर्थतन्त्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन् : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा परेको बताउनु भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीहरुको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरुले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ’– उहाँले भन्नुभयो– ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरु देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धन मार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ ।’

लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उहाँले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताउनुभयो । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन संभव भएको स्पष्ट गर्दै उहाँले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बेला आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.