भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसमा बनाइएको भवन र छात्रावास भवनको उद्घाटन तथा हस्तान्तरण भएको छ । नेपालस्थित भारतीय दूतावासमार्फत प्राप्त भारत सरकारको आर्थिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पस परिसरमा निर्मित भवन र छात्रावासको सोमबार उद्घाटन गरिएको हो ।
बेनी नगरपालिका–८, फूलबारीमा अवस्थित क्याम्पसको छात्रावास, वार्डे न कक्षसहित व्यवस्थापन र मानविकी सङ्काय गरी ३ वटा भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
वि.सं. २०६७ सालमा निर्माण सुरु गरी २०६९ सालमा भवन निर्माण सम्पन्न भएको थियो भने भारतीय दूतावासमार्फत प्राप्त दुई करोड ८३ लाख रुपैयाँको लागतमा उक्त भवनहरू निर्माण गरिएको हो । भवन निर्माणको क्रममा तत्कालीन जिल्ला विकास समितिले ३९ लाख रुपैयाँ लागत बेहोरेको थियो । जिविसले २०७१ सालमा क्याम्पसलाई भवन हस्तान्तरण गरेपछि नियमित प्रयोगमा आइरहेको भए पनि यसअघि भूकम्प, कोरोना महामारीलगायत विभिन्न कारणले भवन उद्घाटनको मिति तय हुन सकेको थिएन ।
दुई तले २४ वटा कोठा भएको नयाँ भवन निर्माणपछि पठनपाठन तथा ग्रामीण क्षेत्रबाट आउने छात्राहरूलाई अध्ययन तथा बसाइमा सहयोग पुगेको क्याम्पसले जानकारी दिएको छ ।
भवन उद्घाटनपछि भारतीय दूतावासका प्रथम सचिव सिंहले दूतावासबाट सञ्चालित परियोजनाको २० वर्षको अवधिमा विभिन्न ७९ वटा आयोजनाहरूमा नेपाललाई सहयोग गरिएको बताउँदै अब २० करोडसम्म सहयोग गर्न सकिने बताउनुभयो । नेपालसँगको सम्बन्ध बलियो रहेकाले नेपाललाई प्राथमिकताका साथ सहयोग हुने बताउँदै उहाँले भारत सरकारले नेपालमा भूकम्पपछिको पुनर्निर्माणसहित विभिन्न परियोजनाहरूमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्तिसहित विभिन्न राहत कार्यक्रमहरूमा नेपाललाई सहयोग गर्नेमा भारत अन्य देशहरूको तुलनामा पहिलो र धेरै सहयोग गर्नेमा पर्ने समेत प्रथम सचिव सिंहको भनाइ छ । उहाँले भारतीय दूतावासबाट हुने सबै सहयोगहरू नेपाल सरकारको मातहतका निकायबाट कार्यान्वयन हुने गरेको बताउनुभयो । भारत सरकारले हरेक समयमा नेपालको विकासमा आर्थिक सहयोग गर्दै आइरहेको बताउँदै उहाँले आगामी दिनमा पनि भारत सरकारले सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले भारतीय दूतावाससँगको सहकार्यमा क्याम्पसभित्र थप पूर्वाधारसहितका अन्य संरचनाहरूलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो । प्रसिद्ध काली गण्डकी नदीबाट भारतको अयोध्यामा पुर्याइएको शिला उत्खनन गरिएको स्थानमा प्रस्तावित २० करोड लागतको परियोजनामा समेत सघाउन नगर प्रमुख केसीले माग गर्नुभयो ।
सोही अवसरमा क्याम्पसले भौतिक तथा प्राविधिक शिक्षाका लागि केन्द्रित गरी तयार पारेको गुरुयोजनामा समेत भारतीय दूतावासबाट सहयोगको मागसहित क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले सचिव सिँहलाई उक्त प्रस्ताव पत्र हस्तान्तरण गर्नुभएको थियो । क्याम्पसको करिब १ हजार जना विद्यार्थीहरू कक्षा ११, १२ र स्नातक, स्नातकोत्तर तहमा अध्ययनरत छन् । ७० प्रतिशत छात्राहरू रहेको क्याम्पसमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विद्यार्थीहरूले समेत अध्ययन गर्दै आइरहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्