हुस्सु र शितलहरले तराइ-मधेशमा बिद्यालय बन्द,उडान प्रभावित

बारा –  हुस्सु र शितलहरका कारण बारा जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई तीन दिन यता घाम नलागेका कारण जाडोले खासगरी बालबालिका, बृद्धबृद्धा, विपन्न तथा गरिब परिवार प्रभावित भएका छन् ।

एक्कासी चिसो बढेपछि मानिसहरुको स्थानीय बजारमा चहलपहल समेत घटेको छ । चिसो बढेका कारण स्थानीयले ठाँउ ठाँउमा आगो वालेर ताप्न सुरु गरेका छन् । चिसोका कारण मानिसहरु अत्यावश्यक काम वाहेक बाहिर निस्केका छैनन् । बाक्लो हुस्सुका कारण लाइट बालेर मात्रै चलाउनु पर्ने अवस्था छ । सडकमा सवारी साधनहरु पनि कम गुडेका छन् ।

जनजिवन कष्टकर र प्रभावित भएपछि बाराका स्थानीय तहहरुले बिदा दिन शुरु गरेका छन । निजगढ नगरपालिकाले ३ दिन विद्यालय विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाद्धारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठन पाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको बिज्ञप्तीमा जनाईएको छ ।

‘चिसो तथा शीतलहरका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न असहज एवंम कठिनाइ भएकोले २०८१ पौष २६ गतेसम्म बन्द गर्न निर्णय अनुसार जानकारी गराइन्छ,’ नगरपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

यसैगरी जीतपुरसिमरा उपमहानगरले पनि चिसो बढेपछि २ दिनका लागि विद्यालय पठन पाठन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरको शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना जारी गर्दै चिसोको कारण २ दिन विद्यालय बन्द रहने जानकारी गराएको छ ।

लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भयो भनेर शिक्षकहरूबाटै गुनासो आएकोले ३ दिनको लागि नगरपालिका विद्यालय बन्द गर्ने निर्णय गरेको हो’ जीतपुर सिमरा शिक्षा शाखा प्रमुख हरिष भट्टले जनाएका छन् । २५ गते सम्म उपमहानगर भित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालय बन्द रहने सुचना मार्फत जानकारी गराएको छ ।

त्यसैगरी बाराको सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले समेत सुचना निकालेर बिदा दिइएको बारे जानकारी गराएको छ ।

शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्ने लगायतका समस्या देखिने गरेको छ । चिसोले गर्दा विद्यालय जाने बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रभावित भएका छन् ।

दुई दिनदेखि सिमरा विमानस्थलमा उडान प्रभावित 

शितलहरका कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ ।  सिमरा विमानस्थलबाट काठमाडौंका लागि हुने सबै उडान दुई दिनदेखि हुन सकेको छैन । सिमराबाट दैनिक ८ देखि १० वटा सम्म उडानहरू हुदै आएको छ । हुस्सु र शितलहरको कारण मौसममा देखिएको खराबीले भिजिविलिटी नपुगेको कारण उडान प्रभावित भएको सिमरा विमानस्थलका सुरेन्द्र कुश्वाहाले बताउनु भएको छ ।सिमरा विमानस्थलबाट काठमाडौंको लागि बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले उडान भर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ ।

उडानको लागि  २ हजार ३ सय भन्दा धेरै भिजिविलिटी आवश्यक पर्छ । तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।बारा, पर्सा, रौतहट, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजार ५ सय यात्रुहरू सिमरा काठमाडौं आउजाउ गर्ने गरेका छन ।

मधेस प्रदेशमा हुने राजनीतिक कार्यक्रममा सहभागी हुन आउने दलका नेता, कार्यकर्ता, काठमाडौंको पशुपतिनाथ, मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक, बारा–पर्सा औद्योगिक करिडोरका व्यवसायीदेखि मध्यमवर्गले पनि सिमरा–काठमाडौ आउजाउ गर्न उक्त विमानस्थल प्रयोग गर्ने गरेका छन ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.