विश्व राजनीति दक्षिण एसिया तर्फ मोढिएको छ: शेखर कोइराला
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा. शेखर कोइरालाले बेलायतको (वेस्ट मिनिस्टर)मा नेपाल–बेलायत सम्बन्ध र संसदीय प्रक्रियाका बारेमा सम्बोधन गर्नु भएको छ ।
सोमवार वेलायतको संसद भवनमा भएको सम्बोधनमा डा. कोइरालाले बेलायत–नेपाल सम्बन्ध, नेपालको कूटनीतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धका साथै नेपाली संसद्ले बनाएका कानुनका विषयमा धारणा राख्नु भएको हो ।
संवोधनको क्रममा उहाँले भुपरिवेष्ठित र अति कम विकसित मुलुक नेपालले विश्व वातावरणीय प्रभावमा आफ्नो योगदान नभइ पनि विभिन्न चुनौति सामना गरिरहेको बताउनु भयो ।
विश्वमा शितयुद्धको समाप्तीसँगै राजनीति, अर्थतन्त्र र रणनीतिक दृष्टि इण्डो प्यासिफिक क्षेत्र र दक्षिण एसिया तर्फ मोढिएको भन्दै नेता कोइरालाले दक्षिण एसियाका ठुलो जनसंख्या विश्वका अरु देशमा गई त्यहाँको व्यवसायिक र सामाजिक जीवनमा परिवर्तनका लागि काम गरिरहेको समेत बताउनु भयो ।
”हाम्रो हिमालयन इकोसिस्टममा परेको प्रभावको न्यूनिकरण र वित्तपोषणको कार्यमा हाम्रा वेलायती साथीहरुले हामीलाई सहयोग गर्न सक्नुहुनेछ । हाम्रालागि दुई विशाल र शक्तिशाली राष्ट्रहरुका बीच सुमधुर सम्बन्ध राख्नु भौगोलिक आवश्यकता मात्र नभई विकेकपूर्ण ढंगवाट सञ्चालन हुने हाम्रो परराष्ट्र नीतिको आधारशिला समेत हो । नेपालको पुरानो साथी र पश्चिमा शक्तिको रुपमा वेलायतको नेपालको असंलग्न परराष्ट्र् नीतिको बुझाईले हामीलाई विश्व राजनीतिमा सहयोग पुग्छ,” नेता कोइरालाले संवोधनको क्रममा भन्नुभयो ।
लोकतन्त्र, मानव अधिकार, वहुलवाद, सुशासन जनताका आकांक्षा र हाम्रा सरकारका प्रतिवद्धता रहेको बताउनुहुँदै यही मूल्य र मान्यताले दुई देश बीचको मित्रतालाई अझ उचाइमा पुर्याउन मदत पुर्याउने अपेक्षा समेत गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्