सरकारलाई सफल बनाउन अध्यादेश आवश्यक: प्रधानमन्त्री ओली

यथोचित समयमा संसद् आव्हान हुने जानकारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन भन्दापनि सरकारलाई सफल बनाउन अध्यादेश ल्याउनु परेको बताउनु भएको छ ।

सरकारले ल्याएका अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकार टिकाउन नभइ सरकारलाई सफल बनाउन अध्यादेश ल्याइएको जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्री  ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै साबधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको जानकारी दिनुभयो ।

“हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ । यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमीसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन् । सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन् ।”

प्रधानमन्त्री ओलीले सत्तारुढ दुवै दलका शीर्ष नेतृत्व र विज्ञसँगको सघन छलफल तथा उद्यमी, व्यवसायीको सुझावसमेतका आधारमा अध्यादेश ल्याइएको जनाउँदै अन्य विधेयकको तयारी भएको र अध्यादेसंसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनुभयो ।

उहाँले यथोचित समयमा संसद् आव्हान हुने पनि जनाउनुभयो । कार्यक्रममा अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.