डोल्पाका विद्यालय खुले तर प्रशासन भन्छ- तत्काल बन्द गर !

डोल्पा- गत चैत्रदेखि बन्द भएका डोल्पाका बिद्यालयहरु खुलेका छन् । कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका बिद्यालयहरु आठ महिनापछि खुलेका हुन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका बिद्यालयहरु खुलाएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिका भित्र पर्ने ३२ वटै बिद्यालयमा निर्देशन दिएको थियो ।

लामो समयदेखि बिद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पुर्ण बिद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।

नगरको निर्देशन अनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माध्यामिक बिद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताउनुभयो ।

सात–आठ महिनासम्म क्वारेन्टिनको रुपमा संचालन गरिएको यस बिद्यालय सामान्य सरसफाई गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ ।

अर्को ठुलीभेरी नगरपालिकाले भने अझै बिद्यालय खुलाएको छैन् ।
प्रशासनले खुलेका बिद्यालयलाई बन्द गर्न ताकेता लगाएपछि ठुलिभेरीका कुनैपनि बिद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ ।

तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि बिद्यालय खुलेका छन् ।

दुबै स्थानीय तहले दशैँ बिदाकालागि बन्द भएका बिद्यालय खुला गरेर निरन्तर रुपमा पठनपाठन सञ्चालनमा ल्याएका हुन् ।
यी दुई स्थानीय तहले लकडाउन अवधीभर पनि निरन्तर बिद्यालय सञ्चालन गरेका थिए ।

नजिकिँदै गरेको बार्षिक परीक्षा सम्पन्न गरेर बिद्यालय बन्द गर्ने दुबै स्थानीय तहको तयारी छ ।

त्यसैगरी, उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले लकडाउनमा पनि बिद्यालय बन्द गरेनन् ।

अहिले पनि तीन वटै स्थानीय तहले पठनपाठन सञ्चालन गरी धमाधम बार्षिक परीक्षा लिइरहेका छन् । अब छिट्टै नतिजा प्रकाशन गरेर बिद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ ।

उपल्लो डोल्पामा छ महिना मात्र पढाइ हुने भएकाले बैशाखमा खुलेका बिद्यालय खुल्ने कात्तिक अन्तिम सातासम्मै बन्द हुने गर्दछन् ।

काइके गाउँपालिकाले लकडाउनको बिचमा बिद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बिचमै पठनपाठन रोकेको थियो ।

प्रशासनद्वारा विद्यायल बन्द गर्न निर्देशन

डोल्पाका स्थानीय तहले सरकारको निर्देशन विपरित बिद्यालय खुलाएकाछन् ।

कोरोना कहरमा देशैभरका बिद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफु खुशी बिद्यालय चलाएको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले बिद्यालयमा हुने जमघटका कारण कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई बिद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ ।

निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठुलिभेरी नगरपालिका,जगदुल्ला र मुड्केचुला गाउँपालिकाले बिद्यालय खुलाएको प्रशासनले जनाएको छ ।

कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्न स्थानीय प्रशासन,स्थानीय सरकार लगायत सम्पुर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ शुरेस सुनार बताउनुहुन्छ ।

“बिद्यालय खोल्न संघीय सरकारको निर्देशन छैन्, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे,अब लिखित निर्देशन नै दिन्छौँ,अटेर गरे भने कारवाही गर्छौँ” प्रजिअ सुनारले भन्नुभयो ।

“लामो समयदेखि बालबालिकाको पठनपाठन ठप्प भएको छ,तर पनि अहिलेको अवस्था भिडभाड नगर्नु नै राम्रो हुन्छ,बरु सुरक्षा सतर्कता अपनाउँदै बैकल्पिक पद्धति अपनाएर शिक्षा प्रदान गर्न सकिन्छ ” प्रजिअ सुनारको भनाइ थियो ।

“जिल्लामा उपलब्ध रेडियो,इन्टरनेट प्रयोग गर्नुकासाथै टोलटोलमा शिक्षक परिचालन गरेर पछि शिक्षा प्रदान गर्न सकिन्छ,बिद्यालय खोलेर मात्र पढाइ हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ ” उहाँले थप्नुभयो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले औपचारिक रुपमा बिद्यालय खुलाउन संघीय सरकारको निर्देशन नभएकाले खुलाइएका बिद्यालय तत्काल बन्द गर्नुपर्ने प्रशासनको भनाइ छ ।

आइतबार सदरमुकाम दुनैमा बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितिको बैठकले स्थानीय तहले खुलाएका बिद्यालय तत्काल बन्द गर्न  लिखित पत्राचार गर्ने निर्णय गरेको सहायक प्रजिअ लक्ष्मी देबी शर्माले जानकारी दिनुभएको छ ।

त्यतिमात्र नभई जिल्ला अस्पतालमा रुघाखोकीका बिरामी बढेकाले कोरोना परिक्षणकालागि स्वाब संकलन गर्ने, तिहारमा देउँसी-भैलो खेल्न नपाइने जस्ता निर्णयसमेत गरिएको शर्माले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.