काँग्रेस सांसदहरुले गरे अध्यादेशका अन्तरवस्तुमा बहस
सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई सभापति देउवाको निर्देशन
![](https://nepaltvonline.com/wp-content/uploads/2025/01/GopalDahal_KTM_RSS_14_IMG_66291-scaled.jpeg)
काठमाडौँ– नेपाली काँग्रेस संसदीय दलको बैठकमा अध्यादेशका अन्तरवस्तुमाथि सम्बन्धित मन्त्रीहरुले आफ्ना दलका सांसदहरुसँग छलफल नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको पार्टी संसदीय दलको बैठकमा सांसदहरुले अध्यादेश आउनुभन्दा अगाडि सांसदहरूसँग छलफल नगरिएको सम्बन्धमा सम्बन्धित मन्त्रीहरुले प्रष्ट पार्नुपर्ने धारणा राख्नु भएको हो ।
बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभयो ।
बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको छ ।
उहाँले मन्त्रीहरूले यसको बारेमा जवाफ दिनुपर्ने भएकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको बताउनुभयो ।
‘सदस्यहरूले मन्त्रीहरूको कामको प्रभावकारिताको विषयमा केही कुराहरू राख्नु भएको छ । मुस्कानसहितको सेवा भन्ने एउटा भनाइ छ । मन्त्रीमात्र मुस्कुराउने तर सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस् भन्ने धेरै माननीयहरूको भनाइ छ । केही नयाँ कुराहरू पनि आएका छन् । सरकारले ल्याएको अध्यादेशको सवालमा केही साथीले सहमति छैन भन्ने कुराहरू गर्नुभएको छ । अध्यादेश आउनुभन्दा अगाडि सांसदहरूसँग छलफल गरिएन । यो कुरा ठिक भएन भनेर केही माननीय सदस्यहरूले कुराहरू राख्नुभयो । मन्त्रीहरूले जवाफ दिनुपर्नेछ । त्यसैले मन्त्रीहरूले जवाफ दिनका लागि फेरि माघ १८ गते बिहान ८ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।’बैठकपछि सञ्चारकर्मीसँग बोल्दै खतिवडाले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्