कोटेश्वर–कलङ्की सडक बन्यो, पुल अझै बनेनन्

काठमाडौं- चक्रपथको कोटेश्वर–कलङ्की खण्डका विभिन्न स्थानमा दुई वर्ष पहिले निर्माण शुरु भएका पुल अझै सम्पन्न भइसकेका छैनन् ।

चीन सरकारको सहयोगमा बिस्तार भएको सो सडकमा नेपाल सरकारले दुई वर्ष पहिले छ स्थानमा आकाशेपुल निर्माण गर्न थालेको थियो ।

तीमध्ये तीन स्थानमा सम्पन्न भए पनि तीन स्थानमा डिजाइनमा समस्या पाइएकाले अघि नबढेको काठमाडौँ चक्रपथ योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माणको अवधि तीन महिना बाँकी भए पनि डिजाइनको समस्याका कारण सो अवधिमा सकिने देखिँदैन । अहिले डिजाइन सच्याउने काम भइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “डिजाइनको कुरा हाम्रो समस्या भएकाले अवधि थप हुनेछ ।” चिनिँया निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण गरेकामा नेपाल सरकारले थप छ ठाउँमा आकाशे पुलको निर्माण शुरु गरेको थियो ।

कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्काेमा पुल बनाएको थियो । यी पुल मात्रै पर्याप्त नभएको र पैदलयात्रुलाई सडक वारपार गर्न कठीन भएकाले सडक विभागले एक–एक किलोमिटरको दूरीमा पर्ने गरी थप स्थानमा पुल निर्माण गरेको थियो ।

अहिलेसम्म बालकुमारी, सातदोबाटो र एकान्तकुनामा सम्पन्न भइसकेको छ । सानेपा, बल्खु र महालक्ष्मीस्थानमा सच्याइएको डिजाइनअनुसार निर्माण गरिने प्रमुख सुवालले जानकारी दिनुभयो ।

विसं २०७१ मा कोटेश्वर–कलङ्की सडकको विस्तार शुरु भएकामा विसं २०७५ मा सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । सोही सडकमा (खसीबजारदेखि कलङ्की चोकसम्म) नेपालमा नै पहिलो पटक ‘अण्डर पास’ समेत निर्माण भएको थियो । चीन सरकारले नै चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्कीदेखि चाबहिल सडक बिस्तार गर्ने भएको छ ।

चिनिँया पक्षलाई हस्तान्तरण गर्न सडक विभागले सडक निर्माणस्थलमा रहेका संरचना हटाउने काम गरिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.