नेपाल संवत् नेपालीको मौलिक संवत् होः मुख्यमन्त्री पौडेल

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवतलाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताउनुभएको छ । नेपाल संवत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा मजबुत रहेको उल्लेख गर्नुभएको छ ।

“नेपालको मौलिक नेपाल संवत् ११४१ को पावन अवसरमा प्रदेशवासी दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देमा उल्लेख छ । पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले तत्कालीन समयमा ऋणको भारले थिचिएका र साहुकैमा दासको जीवन बिताउन बाध्य व्यक्तिको ऋण चुक्ता गरिदिएको दिनका स्मृतिमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्दै यो दिनलाई विशेषतः नेवारी समुदायले धुमधामसँग मनाउने गरेको तथा हाल हरेक नेपालीले मौलिक नेपाली संवत्का रूपमा आत्मसात गरेको बताउनुभएको छ ।

“हाम्रो देश नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको देश भए पनि धार्मिक, सांस्कृतिक तथा जातीय एकतामा पनि मजबुत रहेको छ । यो नयाँ वर्षको अवसरमा नेपालीहरुबीचको एकता थप मजबुत बनोस् भन्ने कामना व्यक्त गर्दछु, न्हुदया भिन्तुनाः”, पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.