मनै भूलाउने सुविधानगरको मदन भण्डारी बाटिका (भिडियो रिपोर्ट)

काठमाडौं– घनाबस्ती र व्यस्त जीवनशैलीका बीचमा पार्क एवम् बाटिकाको महत्व कति हुन्छ भन्ने उदाहरण काठमाडौंको कोटेश्वर सुविधानगरमा रहेको मदन भण्डारी स्मृति वाटिकालाई लिन सकिन्छ । बोटविरुवा फूल बगैंचा सहितको जीवन्त उक्त बाटिकामा आनन्द लिनेहरुको आकर्षण बढ्दो छ ।

गरे के सम्भव छैन भन्ने एउटा उदाहरण मदन भण्डारी स्मृति बाटिकालाई लिन सकिन्छ । भिरालो पाखो र फोहोर फाल्ने ठाउँ जीवन्त वाटिकाको रुपमा परिणत भएपछि यहाँ आउने जो कोही आनन्दित नहुने कुरै छैन् । यस क्षेत्रको गहनाको रुपमा मानिएको यो सुन्दर र मनमोहक वाटिकामा दैनिक एक हजार जना भन्दा बढी मानिसहरु आनन्द लिन र फोटो खिच्न आउने गरेका छन् ।

चार रोपनी क्षेत्रफलमा फैलिएको यो बाटिकामा मदन भण्डारीको पूर्ण कदको प्रतीमा, उहाँले चढ्ने कम्पनीको साइकल, जनताको बहुदलीय जनवाद जबजसँग सम्वन्धित उहाँका वाणीहरु पनि संरक्षित छन् । ५० प्रजातीका करिव २०० भन्दा बढी बोटविरुवाहरु, फूल बगैंचा, शैचालय, निःशुल्क वाइफाइ र पूर्वाधार संरचनाले वाटिकाको रौनक र आकर्षण झनै बढाएको छ ।

सार्वजनिक जमिनको संरक्षण गर्ने उद्देश्यले नेकपा एमालेका तत्कालिन महासचिव एवम् जननेता मदन भण्डारीको स्मृतिमा २०५२ सालमा वृक्षारोपण गरिएपछि बाटिका निर्माणको अवधारणा अघि बढेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सुरुमा लामो आयु भएको जिङ्गो वाइलोबा नामको वृक्षरोपण गर्नुभएको थियो ।

नेपाल सरकारको ३ करोड २२ लाख रुपैयाँको लागतमा वाटिकाको निर्माण पछि उपभोक्ता समिति मार्फत यो वाटिकाको संरक्षण हुँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा यो बाटिकाको उद्घाटन गर्नुभएको थियो ।

संघीय सरकार, प्रदेश, स्थानीय सरकारर उपभोक्ता समितिको संयुक्त प्रयासबाट वाटिकाको निर्माण र संरक्षण भइरहेको सामुदायिक विकास समिति अन्तर्गतको मदन भण्डारी स्मृति वाटिकाकी कोषाध्यक्ष सुमित्रा कडरियाले जानकारी दिनुभएको छ ।

आफू बस्ने गाउँ ठाउँमा खेर गएको जमिनलाई संरक्षण गर्दै नमूनाको रुपमा वाटिकाको निर्माण सम्भव भएको बाटिकाका अध्यक्ष मदनकुमार सिवाकोटी बताउनुहुन्छ ।

मदन भण्डारी स्मृति बाटिकाको संरक्षकको रुपमा पूर्वकानूनमन्त्री एवम् महान्यायिवक्ता अग्नीप्रसाद खरेल रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.