पिएसबीमा मौसम तथा विपद् संचारसम्बन्धी कार्यशाला

काठमाडौँ- सार्वजनिक सेवा प्रसारणमा ”मौसम तथा विपद् संचार” विषयक कार्यशाला आजबाट सुरु भएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन, रेडियो नेपाल र बिबिसी मिडिया एक्सन नेपालको सहकार्यमा सुरु भएको कार्यशालाको उद्घाटन गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार विपद् र मौसम सम्बन्धी सूचनालाई सरल र प्रभावकारी ढंगले सञ्चार गर्न कार्यशालाले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष विष्टले कार्यशालामा हासिल गरेका ज्ञान र सीपलाई व्यवहारिक रुपमा परिवर्तन गरी आम नागरिकलाई सुसूचित गराउने कार्यमा लाग्न पनि सहभागी सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।
उद्घाटन समारोहमा सार्वजनिक सेवा प्रसारणका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सार्वजनिक प्रसारण नेपालले मौसम र विपद् सम्बन्धी जानकारीलाई बढी प्रभावकारी रुपमा आम श्रोता तथा दर्शकमाझ सञ्चार गर्ने उद्देश्य अनुरुप कार्यहरू गरिरहेको बताउनुभयो ।
यस्तै, कार्यशालामा संचारविद रामकृष्ण रेग्मी, वरिष्ठ पत्रकार तथा प्रशिक्षक मोहन मैनालीले संचार माध्यममा मौसम तथा विपद्सँग सम्बन्धित विषयबस्तुको महत्व उल्लेख गर्नुहुँदै मौसम सम्बन्धी विषयवस्तुको प्रस्तुति र भाषामा सरलता ल्याउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै, नेपाल टेलिभिजनका समाचार च्यानल प्रमुख पुष्पहरि क्याम्पा राई र रेडियो नेपालका समाचार प्रमुख पवन प्याकुरेलले नेपाल टेलिभिजन र रेडियो नेपालमा मौसम विपद् सम्बन्धीका समाचारलाई दिएको प्राथमिकता र आगामी दिनमा गर्न सकिने सुधारका बारेमा प्रस्तुति दिनु भएको थियो ।
सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा सुरु भएको कार्यशाला तीन दिनसम्म चल्ने छ ।।






प्रतिक्रिया राख्नुहोस्